राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेलाई सोमबार राति मात्रै वेष्ट इण्डिजको क्यारेबियन प्रिमियर लिगमा जमैका तालेवाजले १ करोड बढीमा अनुबन्ध गर्यो।
पहिलो पटक २०१८ मा आइपीएलबाट फ्रेन्चाइज लिग खेल्न सुरु गरेका उनले लगातार अन्तराष्टिय लिगमा सहभागी भैरहेका छन्।
अन्तर्राष्ट्रिय लिगमा राम्रो आम्दानी भएकै कारण गतवर्ष सन्दीपले काठमाडौको बुढानिलकण्ठमा ६ करोडको घर किनेका थिए।
उनले हालसम्म खेलेका विदेशी लिगबाट गरेको आम्दानी यसप्रकार छ-
इण्डियन प्रिमियर लिग (आइपीएल)
गतवर्ष सन्दीपले दोस्रो पटक लगातार दिेल्ली डेयर डेभिल्स(हाल दिल्ली क्यापिटल)बाट आइपीएल खेले। पहिलो वर्ष ३ खेलमा मात्रै मैदान उत्रन पाएका उनले गतवर्ष ६ खेल खेले। सन्दीप दिल्लीबीच तीन वर्षे सम्झौता भएको छ। सो सम्झौताअनुसार प्रत्येक वर्ष उनी २० लाख भारतीय रुपैयाँ पाउनेछन। अघिल्लोवर्ष दिल्लीबाट सन्दीपले ६ खेलमा ८ विकेट लिएका थिए।
टि–टेन लिग
गतवर्ष सन्दीपले यूएईमा भएको टि-टेन लिगमा फ्रेन्चाइज टोली कर्नाटक टस्कर्सबाट खेलेका थिए। क्याटगरी ‘ए’ मा सन्दीपलाई टोलीले ४५ हजार अमेरिकी पारिश्रमिक दिएको थियो। त्यस अघिल्लो संस्करण सन्दीपले केरला नाइट्सबाट खेलेका थिए। केरलाबाट सन्दीपले ३५ हजार अमेरिकी डलर बुझेका थिए।
बिग बास लिग
पहिलोपटक दुईवर्ष अघि बिगबास लिग खेल्दा सन्दीपलाई मेलबर्न स्टार्सले ६० हजार अस्ट्रेलियन डलर तिरेको थियो। गतवर्ष दोस्रोपटक खेल्दा भने उनको पारिश्रमिक खुलाइएन।
बिग बासको दुई संस्करण खेलेका उनले दुवै संस्करण पुरा खेल्न पाएनन्। गत वर्ष विग ब्यास खेल्दा बिचमै छोडेर बंगलादेश प्रिमियर लिग खेल्न गएका थिए। दोस्रो संस्करणमा भने कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक ओडीआई सिरिज खेल्न क्वालिफायर खेल छाडेर नेपाल फर्किन लागेका हुन्।
क्वारेवियन प्रिमियर लिग
क्वारेवियन प्रिमियर लिग २०१९ सन्दीप सम्मिलित बार्बाडस ट्राईडेन्टसबाट खेले। सन्दीपलाई गत जेठमा बार्बाडसले ड्राफ्टमा पाँचौ राउण्डमा अनुबन्ध गरेको थियो। सो लिगमा उनले ७० हजार अमेरिकी डलर प्राप्त गरे।
अघिल्लो वर्ष सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सबाट खेल्दै ५ खेलमा ७ विकेट लिँदा उदीयमान प्रतिभा घोषित भएका थिए। जसमा पारिश्रमीक ५ हजार अमेरिकी डलर थियो।
आगामी संस्करणका लागि सोमबार राति भएको ड्राफ्टमा सन्दीप महँगो मुल्यमा अनुबन्ध भएका छन। सन्दीपले यस सिजनमा तोकेको आफ्नो मुल्य न्यूनतम ९० हजार अमेरिकी डलर (१ करोड ८ लाख रुपैयाँ) दिएर सोमबार भएको ड्राफ्टबाट जमैका तलावाजले उनलाई अनुबन्ध गरेको हो।
तर क्रिकेटको लोकप्रिय अनलाइन क्रिकइन्फोले सन्दीपलाई तलावाजले १ लाख ३० हजार अमेरिकी डलर (१ करोड ५५ लाख रुपैयाँ)मा अनुबन्ध गरेको जनाएको छ।
अफगानिस्तान प्रिमियर लिग
दुई वर्षअघि अफगानिस्तान प्रिमियर लिगमा सन्दीपले नाग्राहर लियोपार्डबाट एक खेल मात्रै खेले। उक्त खेलमा दुई विकेट लिएका सन्दीपलाई टोलीले ड्राफ्टमार्फत १५ हजार अमेरिकी डलर तिरेको थियो।
बंगलादेश प्रिमियर लिग
२०१८ मा नै बंगलादेश प्रिमियर लिगमा सिल्हेट सिक्सर्सबाट ६ खेलमा सन्दीपले ४ विकेट लिएका थिए। यसमा उनले पाएको पारिश्रमिक खुलाइएको छैन।
पाकिस्तानी सुपर लिग
२०१९ मा पाकिस्तानी सुपर लिगमा सन्दीपलाई गोल्ड क्याटागोरीबाट लाहोर कलन्दर्शले टोलीसँग अनुबन्ध गरेको थियो। उक्त क्याटागोरीका खेलाडीको पारिश्रमिक ५० हजार देखि ७० हजार अमेरिकी डलरसम्म हुन्छ। सन्दीपले लाहोरबाट ७ खेल खेल्दै ११ विकेट लिएका थिए।
ग्लोबल टि–२० क्यानडा
२०१८ मै सन्दीपले ग्लोबल टि–२० क्यानडाको उद्घाटन संस्करण खेलेका थिए। लिगमा मोन्टोरियल टाइगर्सबाट खेलेका उनले ४० हजार अमेरिकी डलर पारिश्रमिक बुझेका थिए।
यस्तै २०१९ मा भएको अर्को संस्करणमा सन्दीपलाई टोरोन्टो नेशनल्स टोलीले ६० हजार डलरमा अनुबन्ध गरेको थियो।
Shares

प्रतिक्रिया