सरकारले धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानका लागि बजेट विनियोजन गरेपछि पूर्वाधारण निर्माण विकास समितिका अध्यक्ष सुवास शाहीले खुशी जनाएका छन्।
शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि ठेक्का प्रक्रियामा लैजान घोषणा गरेका छन्। त्यसका लागि बजेट विनियोजन गरेको अर्थमन्त्री वाग्लेले जनाएका छन्।
बजेट भाषणा सकिएपछि सामाजिक सञ्जालमार्फत फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान एवं खेलग्राम पूर्वाधार निर्माण विकास समितिको अध्यक्ष शाहीले खुशी जनाएका हुन्। उनले भनेका छन्, ‘अन्ततः सपना साकार हुँदै।’
बजेट आफूलाई अत्यन्तै भावुक बनाएको जनाएका छन्। ‘फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला र फाप्ला बहुउद्देश्यीय कभर्ड हलको भौतिक निर्माण कार्यलाई यसै वर्ष ठेक्का प्रक्रियामा लैजाने गरी बजेट विनियोजन भएको सुखद खबर बाँड्न पाउँदा अत्यन्तै भावुक र गौरवान्वित महसुस भएको छ,’ शाहीले भनेका छन्, ‘यो केवल बजेट विनियोजन होइन, सुदूरपश्चिमको दशकौँदेखिको सपना र सामर्थ्यमाथि राज्यले गरेको ऐतिहासिक विश्वास हो।’
अध्यक्ष सुवास शाहीको भनाइ
वर्षौँदेखिको हाम्रो साझा सपना, निरन्तरको संघर्ष, धैर्यता र अटल विश्वासले आज ऐतिहासिक मोड लिएको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला र फाप्ला बहुउद्देश्यीय कभर्ड हलको को भौतिक निर्माण कार्यलाई यसै वर्ष ठेक्का प्रक्रियामा लैजाने गरी बजेट विनियोजन भएको सुखद खबर बाँड्न पाउँदा अत्यन्तै भावुक र गौरवान्वित महसुस भएको छ। यो केवल बजेट विनियोजन होइन, सुदूरपश्चिमको दशकौँदेखिको सपना र सामर्थ्यमाथि राज्यले गरेको ऐतिहासिक विश्वास हो।
फाप्लाको रणनीतिक महत्त्वलाई आत्मसात गर्दै यसलाई राष्ट्रिय प्राथमिकतामा राखिदिनुहुने सम्माननीय प्रधानमन्त्रीज्यू, माननीय अर्थमन्त्रीज्यू, पूर्वाधार विकास मन्त्रीज्यू , शिक्षा तथा खेलकुद मन्त्रीज्यूप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछौँ। साथै यस अभियानलाई यहाँसम्म पुर्याउन अहोरात्र खटिनुहुने सम्माननीय प्रधानमन्त्रीका मुख्य सल्लाहकारज्यू, राष्ट्रिय योजना आयोगका उपाध्यक्षज्यू, संघीय, प्रादेशिक तथा स्थानीय जनप्रतिनिधिहरू, राष्ट्रसेवक कर्मचारीहरू, खेलकर्मीहरू, सञ्चारकर्मीहरू तथा हरपल साथ दिने सम्पूर्ण सहयोगी मनहरूप्रति विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु।
आज फाप्लाको जगमा इट्टा पर्ने सुनिश्चित भएको यो क्षणमा डेढ दशकअघिको त्यो प्रारम्भ झल्झली सम्झनामा आइरहेको छ। २०६६ सालदेखि एस.पि.ए. कप आयोजना गर्दा मैदान अभावले हामीलाई मोहना किनारको त्यही फाप्लासम्म पुर्याएको थियो— जहाँ गाईभैंसी चरिरहेका थिए, बीचमा आहाल जम्ने खाल्डाखुल्डी थिए, कतै अग्लो त कतै होचो भूभाग थियो। तर हामीले त्यही भूमिमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको भविष्य देखेका थियौँ।
त्यही सपनालाई यथार्थमा बदल्न हामीले मैदान सम्यायौँ, चपरी विछ्यायौँ, पिच निर्माण गर्यौँ, फाप्लासम्म पुग्ने सडक बनायौँ, विद्युत र पानी पुर्यायौँ। धनगढी क्रिकेट लिग (DCL), नेपाल प्रिमियर लिग (NPL) र धनगढी प्रिमियर लिग (DPL) जस्ता सफल प्रतियोगितामार्फत फाप्लालाई राष्ट्रिय पहिचान दिलायौँ। ‘ड्रिम फाप्ला’ अभियान सुरु गऱ्यौँ, जसले कालान्तरमा सरकारलाई फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्राम पूर्वाधार निर्माण विकास समिति गठन गर्न प्रेरित गर्यो।
साढे ३८ विघा जग्गा प्राप्तिको कानुनी जटिलता टुंग्यायौं । विस्तृत परियोजना प्रतिवेदन (DPR) र वातावरणीय प्रभाव मूल्यांकन (EIA) सम्पन्न गरी आयोजनालाई राष्ट्रिय आयोजना बैंक (National Project Bank) मा सफलतापूर्वक समावेश गराउन सफल भएका थियौं ।
सम्पूर्ण जटिल नीतिगत र प्रक्रियागत कार्यहरु सम्पन्न गराउँदै विकास समितिले नेपाल सरकारमार्फत वजेट सुनिश्चितताको अवस्थामा पुर्याउँदै मुख्य उदेश्य सम्पन्न गरेको छ । वर्षौंदेखि सुदूरपश्चिमबासीले देखेको समृद्धिको सपनाले मूर्तरूप दिने अवसरमा विकास समितिमार्फत योगदान दिन पाएकोमा निकै गौरवान्वित पनि छौं ।
फाप्ला केवल एउटा खेलकुद पूर्वाधार होइन। यो सुदूरपश्चिमको समग्र आर्थिक रूपान्तरण, सीमावर्ती व्यापार विस्तार, पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना र ‘क्रिकेट डिप्लोमेसी’ मार्फत राष्ट्रिय अर्थतन्त्रमा दूरगामी सकारात्मक प्रभाव पार्ने रणनीतिक महाअभियान हो।
यो केवल रंगशाला निर्माणको यात्रा होइन, यो सुदूरपश्चिमको आत्मविश्वास, पहिचान र समृद्धिको नयाँ अध्याय हो।
यस ऐतिहासिक उपलब्धिका लागि सम्पूर्ण सुदूरपश्चिमबासी, खेलप्रेमी, सहयोगी तथा शुभेच्छुकहरूलाई हार्दिक बधाई तथा धन्यवाद।
Shares

प्रतिक्रिया