काठमाडौँ महानगरपालिकाले खेलकुद विकास तथा प्रवर्द्धनका लागि विभिन्न संघसंस्थाहरूसँग प्रतियोगिता सञ्चालन गर्न सम्झौता गरेको छ।
महानगरले बुधबार एक कार्यक्रमका बीच खेलकुदसम्बन्धी तीन ठूला प्रतियोगिता सञ्चालन गर्न सम्झौता गरेको हो। महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोको उपस्थितिमा नेपाल पौडी संघ, काठमाडौँ जिल्ला ब्याडमिन्टन संघ र बागमती प्रदेश क्रिकेट संघसँग सम्झौता गरिएको हो।
सम्झौताअनुसार नेपाल पौडी संघले महानगरपालिका मेयर कप पौडी प्रतियोगिता सञ्चालन गर्नेछ। काठमाडौँ जिल्ला ब्याडमिन्टन संघले वडास्तरीय व्याटमिन्टन प्रतियोगिता सञ्चालन गर्ने तथा बागमती प्रदेश क्रिकेट संघले टी–२० पीएल सिंह कप क्रिकेट प्रतियोगिता सञ्चालन गर्नेगरि सम्झौता भएको हो।
महानगरका सामाजिक विकास समिति संयोजक रामकुमार केसीले महानगरभित्र लुकेका प्रतिभालाई पहिचान गरेर अगाडि ल्याउनुपर्ने आवश्यकता औँल्याए। उनका अनुसार नेपालमा क्रिकेटसहित विभिन्न खेलको प्रदर्शन उत्साहजनक रहेको छ। महानगरपालिकाले गर्ने गतिविधिलाई देशभरबाट चासोका साथ हेर्ने भएकोले खेल क्षेत्रको विकासका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने गरिएको जानकारी दिए।
उनले भने, ‘हामीले काठमाडौँ महानगरपालिकाभित्र लुकेर बसेका खेल प्रतिभाहरूलाई खोजेर अगाडी बढाउनुपर्छ। महानगरपालिकाले सबै खेलहरूलाई प्रोत्साहनको लागि पुरस्कार समेत दिँदै आएका छौँ। नेपालभर नै महानगरले के गर्छ भनेर हेरिरहेको छ, हामीले काम अगाडि बढाएपछि नेपाल सरकारले खेलाडीलाई सम्मान गरेको छ।’
महानगरपालिकाले स्थानीय तहबाटै खेलकुद संरचना बलियो बनाउँदै युवालाई खेलतर्फ आकर्षित गर्ने जनाएको छ। सोही लक्ष्यअनुसार आगामी दिनमा थप प्रतियोगिता र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने तयारीसमेत गरेको जनाएको छ।
Shares

प्रतिक्रिया