कर्णाली प्रदेशलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा उक्लेको छ।
सोमबार भएको खेलमा आर्मीले कर्णाली प्रदेशमाथि १ सय ३८ रनको फराकिलो जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा पुगेको हो। जारी पिएम कपमा आर्मी मात्र एक्लो अपराजित टोली हो।
पाँच खेलमा जित र एक खेलमा अंक बाँडेको आर्मी ११ अंकमा तालिकाको शीर्ष स्थानमा छ। पाँच खेलमा हार, एक खेलमा जित र एक खेलमा अंक बाँडेको कर्णाली प्रदेश भने ३ अंकमा तालिकाको नवौँ स्थानमा छ।
आर्मीले दिएको २ सय ६९ रनको लक्ष्य पछ्याएको कर्णाली ४२.१ ओभरमा १ सय ३० रन बनाउँदा अलआउट भयो।
कर्णालीका विपिन शाहीले ४० रन बनाए। अर्जुन घर्तिले ३२, दिपेन्द्र रावतले २५ र सुनिल धमलाले ११ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।
आर्मीका लागि शाहब आलम र बसिर अहमदले समान ३ विकेट लिए। आकाश चन्दले २ विकेट लिए। दुर्गेस गुप्ता र नरेन साउदले समान एक विकेट आफ्नो नाममा गरे।
त्यसअघि विरगञ्जको नारायणी क्रिकेट मैदानमा कर्णाली प्रदेशविरुद्ध टस जितेर ब्याटिङ गरेको त्रिभुवन आर्मी क्लब ४८ ओभरमा २ सय ६८ रन बनाउँदा अलआउट हुन पुग्यो।
आर्मीका मध्यक्रमका ब्याटर अर्जुन साउदले १ सय २१ रनको सर्वाधिक योगदान दिए। उनले १ सय २० बलमा १० चौका र ३ छक्का सहयोगमा १ सय २१ रन बनाउँदा प्रकाश जैसीको बलमा एलबीडब्लु धरापमा परे।
बसिर अहमदले ४५ रन थपे। सन्तोष कार्कीले २९, नरेन साउदले २० र साहब आलमले १७ रन बनाए। ६ ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।
कर्णालीका लागि दिनेश अधिकारीले ४ विकेट लिए। उनले ८.१ ओभरमा १ मेडन राख्दै २३ रन खर्चे। प्रकाश जैसीले ३ विकेट लिए। राज शाह, विपिन शर्मा र दिपेन्द्र रावतले समान एक विकेट आफ्नो नाममा गरे।
Shares

प्रतिक्रिया