अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल फुटबल खेलाडी संघबीच सहमति भएपछि एन्फामा लागेको ताला खुलेको छ।
खेलाडी संघले एन्फासँग राखेको मागमा सहमति जुटेपछि मंगलबार ताला खुलेको हो। सहमतिपछि खेलाडीहरूले एन्फामा लागेको ताला खोलेको बताएका छन्।
आइतबार खेलाडीहरूले एन्फा परिसरमा विरोध प्रदर्शन गर्दै ३ बुँदे मागसहित तालाबन्दी गरेका थिए। खेलाडी संघले सहिद स्मारक ‘ए’ डिभिजन लिग सञ्चालनको सुनिश्चितता, जसमा ‘ए’ डिभिजनको मिति तोक्नैपर्ने माग गरेका थिए।
त्यस्तै, खेलाडी अक्षय कोषको विस्तृत विवरण (गतवर्ष एकै प्रतियोगिताबाट जम्मा ६५ लाखसहित) र खेलाडीहरूको तलब भत्ता तथा पुरस्कार रकम उपलब्ध गर्नुपर्ने (सन् २०१७ देखिको पुरस्कार तथा नियमित तलब भत्ता) जुन हालको कार्यसमिति बैठकबाट पास समेत भएको उपलब्ध गराउनु पर्ने माग राखेका छन्।
खेलाडी सघंले यसअघि पटकपटक वार्ता तथा सडक संर्घषका बाबजुद पनि आफूहरूको मागहरू एन्फाले वेवास्ता गरेका कारण एन्फा मुख्यालयमा तालाबन्दी गर्नुपरेको बताएको थियो।
सोमबार एन्फाले विज्ञप्ति जारी गर्दै खेलाडी संघले लगाएको तालाबन्दीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो।
Shares

प्रतिक्रिया