आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तान सेमिफाइनलसम्म पुग्न सकेन। तर ओपनर साहिबजादा फरहान भने कीर्तिमानी छाप छोड्न सफल रहे। जारी विश्वकपमा दुई शतक प्रहार गर्ने उनी पहिलो खेलाडी बनेका छन्।
सुपर ८ को अन्तिम खेलमा श्रीलंकालाई ५ रनले पराजित गरे पनि पाकिस्तान नेट रनरेटमा पछि पर्दा अगाडिको यात्रा असफल भएको थियो। याेसँगै अन्तिम चारमा पुग्न असफल भयो।
तर यो खेलमा फरहानले भने एकै सिजन सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा अग्रस्थानमा आफ्नो नाम लेखाएका छन्। उनले भारतीय टोलीका ब्याटर विराट कोहलीलाई समेत पछि पारे।
उनले जारी संस्करणमा ३ सय ८३ रन बनाएका हुन्। यसअघि सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपमा विराट कोहलीले ३ सय १९ रन बनाएका थिए।
एकै सिजन सर्वाधिक रन बनाउने खेलाडीमा उनी शीर्ष स्थानमा छन्। दोस्रोमा भारतीय ब्याटर विराट कोहली छन्। तेस्रो स्थानमा श्रीलंकाका ब्याटर तिलकरत्ने दिलसानले २००९ मा ३ सय १७ रन बनाएका थिए। पाकिस्तानका बाबर आजमले २०२१ मा ३ सय ३ रन बनाएका थिए।
एकै संस्करण दुई शतक
जारी विश्वकपमा दुई शतक पूरा गर्ने फरहान पहिलो खेलाडी हुन्।
शनिबार श्रीलंकाविरुद्ध उनले ६० बलमा शतक पूरा गरेका थिए। उनले ५९ बलमा ९ चौका र ५ छक्का सहयोगमा शतक पूरा गरे। शतक पूरा गरेपछिको अर्को बलमा उनी क्याच आउट हुन पुगे।
त्यसअघि उनले समूह चरणमा नामिबियाविरुद्ध शतक हानेका थिए। उनले ५७ बलमा ११ चौका र ४ छक्का सहयोगमा शतक पूरा गरे।नामिबियाविरुद्ध उनले अविजित पारी खेलेका थिए।
जारी विश्वकपमा उनले पहिलो शतक हानेको खेल पाकिस्तानले १ सय २ रनले जितेको थियो।
विश्वकपमा वेस्ट इन्डिजका आक्रामक ब्याटर क्रिस गेलले दुई शतक पूरा गरेका छन्। तर क्रिस गेलले दुई फरक संस्करणमा शतक हानेका थिए। क्रिस गेलले सन् २००७ र २०१६ मा शतक हानेका थिए।
२०२२ को फाइनलमा पाकिस्तान इंग्ल्यान्डसँग ५ विकेटले पराजित भएको थियो। त्यसयता पाकिस्तानले सेमिफाइनल सम्मको यात्रा तय गर्न सकेको छैन।
२०२४ मा भएको विश्वकपमा पनि पाकिस्तान सेमिफाइन पुग्न सकेको थिएन। सन् २०२४ मा पाकिस्तान समुह चरणबाटै बाहिरिएको थियो।
Shares

प्रतिक्रिया