इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडको वित्तीय अवस्था राम्रो देखिएको छ। यद्यपि ऋण भने १.३ अर्ब पाउन्ड स्टर्लिङ पुगेको छ।
बीबीसीका अनुसार युनाइटेडले गत डिसेम्बरसम्मको ६ महिनामा ३ करोड २६ लाख पाउन्ड सञ्चालन आय गरेको हो।
एक वर्षअघिको सोही अवधिमा भने युनाइटेड ३९ लाख पाउन्ड घाटामा थियो।
युनाइटेडको क्रेडिट फ्यासिलिटी २९ करोड ५७ लाख पाउन्ड रहेको छ। ग्लेजर परिवारबाट स्वामित्व हस्तान्तरण हुँदा र थप दायित्व गरी ५० करोड पाउन्ड पुगेको छ। योसँगै गत वर्षको अन्त्यसम्म १ अर्ब २९ करोड पुगेको हो।
युनाइटेडले यो अवधिमा १ करोड ३९ लाख पाउन्ड खुद लागत देखाएको छ। यद्यपि अघिल्लो वर्षको ३ करोड ७६ लाखको तुलनामा यो निकै कम हो।
यो अवधिमा कुल आय १९ करोड ३ लाख पाउन्ड रहेको बताइएको छ। १ वर्षअघिको तुलनामा व्यावसायिक आय ८ प्रतिशतले घटेर ७ करोड ८५ लाख पाउन्डमा झरेको छ। त्यस्तै तलब समेत ९ प्रतिशतले घटेर ७ करोड ५१ लाख पाउन्डमा झरेको छ।
जिम ¥याटक्लिफले दुई वर्षअघि २९ प्रतिशत सेयर स्वामित्व लिएपछि युनाइटेडले लागत कटौतीमा जोड दिएको छ। उसले यो अवधिमा ४५० रोजगारी कटौती नै गरेको छ। यसबाहेक कर्मचारीलाई दिने अन्य सेवा सुविधा कटौती गरेको छ।
Shares

प्रतिक्रिया