राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज सोमबार विश्राम छ।
भोलि मंगलबार भने दुई खेल हुनेछन्।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा मंगलबार बिहान ११ः४५ बजे हुने पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्दै छन् भने अपराह्न ४ बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स आमनेसामने हुनेछन्।
लगातार चार खेल हारेर पुछारमा रहेको जनकपुरले यो खेल जितेर गणितीय हिसाबले भए पनि प्लेअफको दौडमा कायम रहन चाहन्छ। चार खेलबाट दुई खेल जितेको चितवन भने यो खेल जितेर प्लेअफको सम्भावना बलियो बनाउन चाहन्छ।
यस्तै पोखरा र कर्णाली दुवै टोलीका लागि यो खेल प्लेअफ पुग्न महत्त्वपूर्ण छ। चार खेलमा एक खेल मात्रै जितेको पोखरालाई यो खेल जिते प्लेअफको यात्रामा पुग्न सहज हुनेछ।
कर्णालीका लागि भने यो खेल गर या मरको अवस्थामा छ।
मंसिर १ देखि जारी प्रतियोगितामा हालसम्म १९ खेल सकिएका छन्।
अहिलेसम्म अपराजित सुदूरपश्चिम रोयल्स मात्रै १० अंक जोडेर प्लेअफ पुगेको छ।
Shares

प्रतिक्रिया