विराटनगर किंग्सलाई जित दिलाएका ब्याटर बसिर अहदमले खेल्न जाँदा जिताउने भन्दा पनि पूरै टिकेर खेल्छु भन्ने सोचेको बताएका छन्।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीए)मा शुक्रबार कर्णाली याक्सविरुद्ध अविजित ६२ रन प्रहार गरेका उनले विराटनगरलाई रोमाञ्चक जित दिलाएका थिए। खेलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै बसिरले भने, ‘क्रिजमा जाने बेलामा जिताउँछु भन्ने त दिमागमा थिएन। यति थियो, पूरै खेलौं, टिम जित्न सक्छ।’
विराटनगरले छैटौं ओभरमै २९ रनमा तीन विकेट गुमाएपछि बसिर क्रिजमा आएका थिए। त्यसपछि टिकेर खेलका उनले अन्तिम ओभरको पाँचौं बलमा छक्का हान्दै जित हासिल गरे।
लगातार विकेट गुम्दै गएपछि धरमराएको विराटनगरलाई बसिर र नारायण जोशीले सम्हालेका थिए। नारायण १६ बलमा २५ रन बनाएर आउट भए।
नारायणसँगको साझेदारीलाई लिएर सोधिएको प्रश्नमा बसिरले भने, ‘मैले नारायण जोशीलाई पनि भनेको थिए, आफूमाथि विश्वास गर, हान्न सक्छौं। केहीबेर टिकेर खेल, दुवै जना जिताएर जाऔं।’
नारायण आउट भएपछि भने गाह्रो महसूस गरेको उनको भनाइ थियो। ‘नारायणको विकेट जाँदा गाह्रो भएको थियो। हामीसँग विकेट थिएन। दुइटा भएर खेल्दा सजिलो हुन्छ, एक्लै हुँदा गाह्रो हुन्छ,’ उनले भने।
आफूमाथि विश्वास गरेर खेल्दा जिताउन सकिएको उनले बताए। ‘हाम्रो टिमको सुरुवात बिग्रियो। टिक्नुपर्छ, अनि एउटा साझेदारी भयो भने फिनिस गर्न सक्छु भन्ने मलाई विश्वास थियो,’ बसिरले भने, ‘आफूमाथि विश्वास हुनुपर्छ, म जिताउन सक्छु भन्ने हुनुपर्छ। टिकेर खेल्यो भने जिताउन सक्छु भन्ने विश्वास थियो। टिमलाई जिताउन सकेकोमा अल्लाहलाई थ्यांक्यु भन्नु चाहन्छु।’
अन्तिम चारमा पुग्ने टोलीको विषयमा सोधिएको प्रश्नमा उनले अहिले हतार गर्न नहुने बताए। अझै खेल बाँकी भएकाले त्यसमा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो। ‘अहिल्यै हल्का रुपमा लिनु पर्दैन, अझै दुईन खेल बाँकी छ। त्यसमा पनि राम्रो गर्नुपर्छ,’ बसिरले भने।
आजको जितसँगै विराटनगरको आठ अंक भएको छ। अंक तालिकामा सुदूरपश्चिम रोयल्स बराबर अंक रहेको विराटनगर दोस्रो स्थानमा छ। अब विराटनगरले अर्को खेल बुधबार लुम्बिनी लायन्ससँग र शनिबार सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ।
यो पनि पढ्नुहोस् : बसिरको उत्कृष्ट प्रदर्शनमा विराटनगरको रोमाञ्चक जित, कर्णालीको तेस्रो हार
Shares

प्रतिक्रिया