ललितपुरको सगरमाथा स्वीमिङ क्लबले दोस्रो नेपालगञ्ज नेसनल स्वीमिङ च्याम्पियनसिप २०२५ को उपाधि जितेको छ। नेपालगञ्ज स्वीमिङ क्लब बाँकेले आयोजना गरेको प्रतियोगितामा सगरमाथा क्लबले २७२ अंकसहित विजेता बनेको हो।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, नेपाल पौडी संघका केन्द्रीय अध्यक्ष जगतमान श्रेष्ठ र बाँकेका प्रहरी प्रमुख अंगुर जिसीले विजेता टोलीलाई ट्रफी हस्तान्तरण गरे।
प्रतियोगिताका प्राविधिक प्रमुख विष्णु खड्का क्षेत्रीका अनुसार ५६ वटा इभेन्टमा प्रतिस्पर्धा हुँदा ललितपुरकै जेम्स स्कूलले १३५ अंकसहित दोस्रो स्थान हासिल गर्यो भने बाँकेको शिखा एकेडेमी ५२ अंकसहित तेस्रो भयो।
त्यसैगरी, लिटिल एञ्जेल्स स्कूल ललितपुरले ४६, आदर्श माध्यमिक विद्यालय नेपालगञ्जले ३५, कोशी प्रदेशले २०, काठमाडौंको युनिग्लोब स्कूलले ११, स्प्रिङडेल स्कूल नेपालगन्जले १०, राई स्कूल काठमाडौंले ९, नेपालगन्ज स्वीमिङ क्लब बाँकेले ८ र बागेश्वरी एकेडेमी कोहलपुरले ४ अंक प्राप्त गरेको क्षेत्रीले जानकारी दिए।
सगरमाथा क्लबको जितमा अरेक कर्माचार्यले उत्कृष्ट प्रदर्शन गर्दै ७ स्वर्ण पदक जिते भने रिजा अवालेले ५ पदक हात पारेकी थिइन्। कर्माचार्यलाई पुरुषतर्फ र अवालेलाई महिलातर्फ उत्कृष्ट खेलाडी घोषणा गर्दै जनही पाँच–पाँच हजार रुपैयाँले पुरस्कृत गरिएको थियो।
देशभरबाट १५० जना खेलाडी सहभागी रहेको प्रतियोगितालाई आयोजक नेपालगञ्ज स्वीमिङ क्लब बाँकेका अध्यक्ष केशवराज न्यौपानेले सफलरूपमा सम्पन्न भएको बताए। उनले छोटो अवधिमा नै राष्ट्रिय प्रतियोगिता भव्य रूपमा सम्पन्न गर्न सक्नु गौरवको विषय भएको उल्लेख गर्दै आगामी दिनमा अन्तर्राष्ट्रिय स्तरको पौडी प्रतियोगिता आयोजना गर्ने योजना रहेको बताए।
नेपाल पौडी संघको प्राविधिक सहयोगमा सम्पन्न प्रतियोगितामा संघले आगामी दिनमा नेपालगञ्जमै विभागीय टिमसहितको राष्ट्रिय पौडी प्रतियोगिता आयोजना गर्ने प्रतिबद्धता जनाएको छ।
यसैबीच, नेपालगञ्ज रंगशाला परिसरमा रहेको पौडी पोखरीलाई दोस्रो नेपालगञ्ज नेसनल स्वीमिङ च्याम्पियनसिपका पदक विजेता खेलाडीहरूका लागि निःशुल्क उपलब्ध गराइने भएको छ।
मध्यपश्चिम खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दले खेलाडीलाई पौडी पोखरी निःशुल्क प्रयोग गर्न दिने घोषणा गर्दै यस क्षेत्रको पौडी खेल विकासका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
Shares

प्रतिक्रिया