खेल


आशिफ र सन्दीपको अर्धशतकमा वेस्ट इन्डिजलाई नेपालको विशाल लक्ष्य

आशिफ र सन्दीपको अर्धशतकमा वेस्ट इन्डिजलाई नेपालको विशाल लक्ष्य

फाइल फोटो


नेपालखबर
असोज १३, २०८२ सोमबार २१:५७, काठमाडौँ

आशिफ शेख र सन्दीप जोराको अर्धशतक सहयोगमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले वेस्ट इन्डिजविरुद्धको दोस्रो टी–२० आई खेलमा जितका लागि १ सय ७४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। 

युएईको शारजाहस्थित शारजाह क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७३ रनको योगफल तयार पारेको हो। 

नेपाल एक समय ६.४ ओभरमा ३–४३ को अवस्थामा रहेको थियो। चौथो विकेटका लागि सन्दीप जोरा र आशिफ शेखले १ सय रनको साझेदारी गरेपछि नेपाल बलियो योगफल तर्फ उन्मुख भएको थियो। ३९ बलमा ३ चौका र ५ छक्का प्रहार गरेका सन्दीप ६३ रन बनाउँदा क्याच आउट हुन पुगे। 

नेपालका तर्फबाट पूर्ण टेष्ट टोलीविरुद्ध अर्धशतक पूरा गर्ने सन्दीप दोस्रो खेलाडी हुन्। सन्दीपले ३४ बलमा ३ चौका र ३ छक्का सहयोगमा अर्धशतक पूरा गरेका थिए। राष्ट्रिय टोलीका लागि सन्दीपको यो तेस्रो अर्धशतक हो। 

नेपालका लागि ओपनर कुशल भुर्तेल २ रन बनाउँदा एलबीडब्लु धरापमा परे। कप्तान रोहित पौडेल ३ रन बनाउँदा बोल्ड आउट भए। कुशल मल्ल ३ रनमा रनआउट हुन पुगे। 
गुल्सन झा ६ रनमा क्याच आउट भए। 

आशिफ शेख ६८ रनमा अविजित रहे। आशिफले ४७ बलमा ८ चौका र २ छक्का प्रहार गरे। 

आशिफ शेखले ३४ बलमा ८ चौका सहयोगमा अर्धशतक पूरा गरेका थिए। पुर्ण टेष्ट टोलीविरुद्ध अर्धशतक पूरा गर्ने आशिफ पहिलो नेपाली खेलाडी हुन्। 

मोहम्मद आदिल आलम ५ बलमा १ चौका र १ छक्का सहयोगमा ११ रन बनाउँदा एलबीडब्लु धरापमा परे। 

वेष्ट इण्डिजका लागि अकिल हुसैन र काइल मेयर्सले समान २ विकेट लिए। जेडिया ब्लाडेसले १ विकेट आफ्नो नाममा गरे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad