खेल


साम्बा र प्रीति नभए पनि उच्च मनोबलका साथ उज्बेकिस्तान प्रस्थान गर्दै एपीएफ

लगातार दोस्रोपटक च्याम्पियन्स लिग खेल्न लागेको एपीएफको लक्ष्य अघिल्लो चरणमा पुग्ने
साम्बा र प्रीति नभए पनि उच्च मनोबलका साथ उज्बेकिस्तान प्रस्थान गर्दै एपीएफ

लक्ष्मी जि.सी
भदौ ६, २०८२ शुक्रबार ६:१६, काठमाडौँ

उज्बेकिस्तानमा हुने एएफसी क्लब महिला च्याम्पियन्स लिग खेल्न एपीएफ फुटबल क्लब शुक्रबार त्यसतर्फ प्रस्थान गर्दै छ। 

राष्ट्रिय महिला फुटबल टोलीका अधिकांश खेलाडीले भरिएको एपीएफ महिला च्याम्पियन्स लिगमा बलियो प्रतिद्वन्द्वी हो। 

लगातार दोस्रोपटक च्याम्पियन्स लिग खेल्न लागेको एपीएफको लक्ष्य अघिल्लो चरणमा पुग्ने हो। 

एपीएफको टोली स्टार फरवार्ड सावित्रा भण्डारी (साम्बा) र मिडफिल्डर प्रीति राईबिना नै उज्बेकिस्तान प्रस्थान गर्न लागेको हो।

व्यावसायिक लिगका लागि साम्बा न्युजिल्यान्डको वेलिंग्टन फोनिक्स एफसीमा र प्रीति राई जोर्डनको अल इत्तिहाद क्लबमा आबद्ध भएका छन्। 

साम्बाले अस्ट्रेलियन ए लिग खेल्नेछिन्। उनी भदौ तेस्रो साता व्यावसायिक लिगका लागि त्यसतर्फ प्रस्थान गर्नेछिन्। 

प्रीतिले अल इत्तिहाद क्लबबाटै एएफसी महिला च्याम्पियन्स लिग खेल्नेछिन्। उनी रहेको क्लब समूह सीमा छ। 

यद्यपि एपीएफले च्याम्पियन्स लिगका लागि दुई डिफेन्डरलाई टोलीमा अनुबन्ध गरिसकेको छ। एपीएफले नेपाल पुलिस क्लबकी समीक्षा घिमिरे र त्रिभुवन आर्मी फुटबल क्लबकी विमला विकलाई टोलीमा आबद्ध गरेको छ।

टोलीकी डिफेन्डर विमला विकले आफूलाई एपीएफले दिएको अवसरलाई सदुपयोग गर्ने बताइन्।

उज्बेकिस्तान जानुअघि विमलाले भनिन्, ‘सबै खेलाडी राष्ट्रिय टोलीकै भएका कारण प्रशिक्षणमा फरक महसुस भएको छैन, हामी सबैको लक्ष्य भनेको राम्रो नतिजा ल्याउनु नै हो।’

च्याम्पियन्स लिगका लागि एपीएफले फरवार्ड लाइन थप बलियो बनाउन पुलिस क्लबकै अर्की स्ट्राइकर रेखा पौडेललाई भित्र्याउने तयारी गरेको थियो। तर यो प्रयास असफल भए पनि एपीएफले डिफेन्सिभ लाइन भने बलियो बनाएको छ। 

चोटकै कारण करिब १० महिना मैदान बाहिर रहेकी डिफेन्डर हीरा भुजेल पनि यही च्याम्पियन्स लिगमार्फत पूनरागमनको तयारीमा छिन्। उनी गत कात्तिकमा घरेलु मैदानमा भएको साफ महिला च्याम्पियनसिपमा भुटानविरुद्ध भिड्दा चोट लागेर मैदानबाट बाहिरिएकी थिइन्। घुडाँको मिनिस्कर र एसिएल गएपछि हीरा करिब १० महिना खेल्न सकिनन्। 

पुनरागमनको तयारीमा टोलीसँगै प्रशिक्षण लिइरहेकी हीरालाई दोस्रो हाफमा मैदान उतार्ने तयारी एपीएफको छ। उनी र दुई डिफेन्डरलाई अनुबन्ध गरेपछि एपीएफ थप बलियो देखिएको छ। 

यस्तै मुख्य प्रशिक्षणको जिम्मा पनि नेपाल पुलिस क्लबकै चेतन घिमिरेलाई दिइएको छ। नयाँ टोलीसँग आफू घुलमिल रहेकाले प्रशिक्षणमा गाह्रो नभएको उनले सुनाए। 

विपक्षी टोली बलिया भए पनि खेलाडीहरू सकारात्मक र दुई डिफेन्डर थपेका कारण टोली केही बलियो बनेकाले राम्रो नतिजा आउने आशामा प्रशिक्षक घिमिरे छन्। 

एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक छनोटमा एपीएफ समूह ‘बी’मा परेको छ। एपीएफ रहेको समूहमा साउदी अरबको अल नासर, आयोजक उज्बेकिस्तानको पिएफसी नसाफ र थाइल्यान्डको कलेज अफ एसियन स्कलर्स छन्। 

टोलीकी कप्तान अनिता बस्नेतले टोलीको तयारी राम्रो रहेको बताइन्। पहिलाको तुलनामा टोली बलियो बनेको र विपक्षी पनि बलियो रहेकाले त्यहीअनुसार तयारी गरिरहेको उनले सुनाइन्। यो आफूहरूका लागि अवसर भएको बताउँदै उनले राम्रो नतिजा ल्याउने गरी खेल्ने बताइन्। 

टोलीकी गोलरक्षक एन्जिला तुम्बाप्पो सुब्बाले तयारी राम्रो भइरहेको बताइन्। विपक्षीहरू बलियो भए पनि आफूहरूसँग राष्ट्रिय टोलीका अनुभवी खेलाडी रहेकाले आत्मविश्वास बलियो भएको बताइन्। एपीएफभन्दा पनि राष्ट्रिय टोलीजस्तै लागेको सुनाउँदै उनले दुई डिफेन्डर भित्र्याउँदा टोली बलियो भएको उनको भनाइ छ।

एपीएफमा अहिले एन्जिलासहित अञ्जना राना मगर र महिला लिगमा टोलीको गोलपोस्ट सम्हालेकी सावित्री किसन गरी तीनजना गोलरक्षक छन्। 

एपीएफले भदौ ९ गते सोमबार घरेलु टोली उज्बेकिस्तानको पीएफसी नसाफविरुद्ध खेल्दै छनोट खेल सुरुवात गर्नेछ। 

दोस्रो खेलमा १२ गते बिहीबार थाइल्यान्डको कलेज अफ एसियन स्कोलर्ससँग र समूह चरणको अन्तिम खेलमा १६ गते सोमबार साउदीको अल नसारविरुद्ध भिड्ने तालिका छ। 

समूह चरणका खेलहरू अगस्ट २३ देखि ३१ सम्म उज्बेकिस्तानमा हुनेछ। छनोटमा सहभागी १९ टोलीलाई ५ समूहमा विभाजन गरिएको छ।

समूह चरणमा ४ समूहमा ४  टोली र एक समूहमा ३ टोली छन्। हरेक समूह विजेताले फाइनल चरणमा स्पर्धा गर्नेछन्। 

यसअघि नै छनोट भइरहेका ७ टोलीसहित छनोट चरण पार गर्ने ५ गरी १२ टोलीले फाइनल चरणमा प्रतिष्पर्धा गर्नेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad