म्याक्सिम्याक्स एजुकेसन एजुकेसन माइग्रेसन सर्भिसेसले नेपाली महिला फुटबल टोलीकी कप्तान सवित्रा भण्डारी ‘साम्बा’ लाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।
साम्बा र म्याक्सिम्याक्सका प्रबन्ध निर्देशक रोजन दनैले सम्झौता पत्रमा हस्ताक्षर गरे। राष्ट्रिय टोलीबाट ६० खेलमा ६६ गोल गरेकी साम्बालाई आफ्नो संस्थासँग जोड्न पाउँदा खुसी लागेको म्याक्सिम्याक्सले जनाएको छ।
साम्बाले कुनै कन्सल्टेन्सीको ब्रान्ड एम्बेसडर बन्ने सपना धेरै अघिबाट देखेको र म्याक्सिम्याक्सले त्यसलाई पूरा गरिदिएकोमा धन्यवाद दिइन्। उनले यसले नयाँ पुस्तालाई पनि प्रेरणा मिल्ने विश्वास व्यक्त गरिन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले म्याक्सिम्याक्सलाई धन्यवाद दिँदै यसले अन्य खेलाडी पनि बाटो खुल्ने आशा राखेका छन्।
इक्यानका अध्यक्ष शेषराज भट्टराईले साम्बा र म्याक्सिम्याक्सलाई सहकार्यका लागि शुभकामना दिए। निजी क्षेत्रबाट भएको पहलको तारिफ गर्दै नेपाल खेलाडी संघका अध्यक्ष विक्रम लामाले अन्य खेलाडीका लागि पनि यसखालको बाटो खुल्ने आशा व्यक्त गरे।
साम्बाले म्याक्सिम्याक्सको प्रवर्द्धनमा भूमिका निर्वाह गर्ने बताइएको छ। नेपालमा क्लब फुटबल नेपाल एपीएफबाट खेलिरहेकी साम्बाले इन्डियन वुमन्स लिगमा सेथु एफसी, गोकुलम केरलाबाट खेलिसकेकी छिन् ।
सन् २०२२-२३ मा गोकुलमलाई इन्डियन वुमन्स लिगको उपाधि उचाल्दा उनले १० खेलमा ३१ गोल गरेकी थिइन्।
त्यस्तै साम्बाले इजरायलको होपोइल रानानाबाट पनि खेलिसकेकी छिन्। गत वर्ष उनले फ्रान्सको प्रिमियर लिगमा गुइनगाम्पबाट खेलिन्। अब छिट्टै नै अस्ट्रेलियाको प्रिमियर लिगमा वेलिङटन फोनिक्सबाट खेल्नेछिन्।
साम्बाले न्युजिल्यान्डको वेलिटन फिनिक्सका लागि व्यवसायिक सम्झौता गरिसकेकी छिन्। म्याक्सिम्याक्सले ब्रान्ड एम्बासडर ‘साम्बा’ सँग ३ वर्षका लागि सम्झौता गरेको हो। अस्ट्रेलियाको मेलवर्नमा मुख्य कार्यालय रहेको म्याक्सिम्याक्स एजुकेसन अस्ट्रेलियामा विभिन्न सामाजिक, सांस्कृतिक र खेलकुद गतिविधिहरूमा पनि सक्रिय छ।
Shares

प्रतिक्रिया