नेपाली राष्ट्रिय महिला फुटबल टोली उज्वेकिस्तानको यात्राबाट फर्किँदा एक प्रकारको शून्यता थियो। कारण हो- टोलीको मुख्य प्रशिक्षकको अनुपस्थिति।
प्याट्रिक डे वाइल्ड, प्रो लाइसेन्स प्राप्त अनुभवी प्रशिक्षक, नेपाली महिला फुटबल टोलीको जिम्मेवारी सम्हालेको जम्मा ६ सातामै पदबाट बाहिरिए। टोली पहिलो पटक उनको नेतृत्वमा उज्वेकिस्तान पुगेको थियो। उज्वेकिस्तान भ्रमण नेपाली टोलीका लागि महत्त्वपूर्ण थियो।
अब प्रश्न उठेको छ- टोलीको अर्को कदम के? महिला फुटबल अघि बढ्ने बाटोमा फेरि एकपटक अनिश्चितता थपिएको छ।
यसको कारण हो टोलीसँगै गएको एन्फाको व्यवस्थापक टिम। जसले पहिलो खेलका लागि मैदान उत्रिनु पहिले नै प्रशिक्षक र व्यवस्थापनले कप्तानको विषयमा विवाद गरेर ड्रेसिङ रुममा रमिता देखाए।
प्रशिक्षकले छानेको कप्तानलाई व्यवस्थापन टोलीले सहजै स्वीकारेन। त्यसो त खेलाडीको व्यवस्थापनमा न्युनतम सुविधासमेत दिन नसकेको भन्दै वाइल्डले व्यवस्थापन टोलीसँग असन्तुष्टि जनाइसकेका थिए। नेपालमा हुँदा नै मुख्य प्रशिक्षक वाइल्ड र टिम व्यवस्थापनबीच मनमुटाव सुरु भइसकेको थियो। त्यसले मुर्तरुप भने उज्वेकिस्तानमा पुगेपछि लियो।
त्यसको बदला व्यवस्थापनमा खटिएका एन्फाका कर्मचारीले कप्तान चयनमा अवरोध गरेर लिन खोजे। वाइल्डविरुद्ध उज्वेकिस्तानमै सहायक प्रशिक्षकसहित एन्फाको टिम एकजुट भयो।
त्यो विवाद त्यतिमै सीमित रहेन। वाइल्डलाई उज्वेकिस्तानमै चेतावनी दिएर फर्किएको एन्फाको टोलीले २ दिनपछि काठमाडौँमा सामूहिक रुपमा पत्रकार सम्मेलन गरेर दोष देखाउँदै उम्कन खोजे।
एन्फा नेतृत्वले पनि त्यसैलाई आधार बनाएर वाइल्डलाई स्पष्टीकरण सोध्यो। स्पष्टीकरण पहिले नै त्यहाँ भएका गतिविधिबारे वाइल्डले एन्फालाई रिपोर्ट गरिसकेका थिए।
तर फेरि स्पष्टीकरण माग भएपछि भने उनी राजीनामा दिँदै ६ सातामै नेपाली महिला राष्ट्रिय टिमको नेतृत्वबाट अलग भए।
वाइल्डले राष्ट्रिय टिमको नेतृत्व मात्रै छाडेनन् छोटो समयमै एन्फाभित्रको राजनीति र महिला टोलीको भविष्यबारे केही प्रश्न पनि छाडेका छन्।
खेलाडीले पाउनुपर्ने न्युनतम सेवा सुविधाबारे पहिलो भ्रमणमै प्रश्न उठाएर उनले एन्फाको व्यवस्थापन कति कमजोर रहेछ भन्ने कुरा बाहिर ल्याइदिए। मिलेमतोमा ढाकिँदै आएको एन्फाको यस्तो कमजोरी उदांगो भएपछि उनलाई हटाउन सबै एकजुट भएको सन्देश गयो।
तर व्यवस्थापक बिन्द्रा देवान, हेड अफ डेलिगेट्स सरिला श्रेष्ठ, सहायक प्रशिक्षक राजेन्द्र तामाङ, भगवती थापा र गोलरक्षक प्रशिक्षक सुरज श्रेष्ठले पत्रकार सम्मेलनमा सबै ध्यान कप्तान विवादतिर मोड्न खोजे र व्यवस्थापनको कमजोरी लुकाउने भरमग्दुर प्रयास गरे।
त्यसअघि मुख्य प्रशिक्षक वाइल्डले उज्वेकिस्तानमा भएको कप्तानी विवादसँगै खेलअघि र पछि भएको सबै घटनाक्रमबारे इमेलमार्फत एन्फालाई तीन पेज लामो जानकारी पठाएका थिए। तर एन्फा नेतृत्वले उनको कुरा सुनेन।
महिला टोलीको व्यवस्थापकसहित सहायक प्रशिक्षक र हेडअफ डेलिगेट्सलाई कुनै जवाफ मागिएन। तर वाइल्डमाथि प्रतिकार गर्न सामूहिक पत्रकार सम्मेलन आयोजना गरिदियो।
एन्फाले स्पष्टीकरण मागेपछि वाइल्डले भने जवाफसँगै राजीनामा पनि पठाए। उनको राजीनामा आएपछि एन्फाको सचिवालय र टेक्निकल टिम बसेर यसबारेमा निर्णय गर्ने प्रवक्ता सुरेश शाह बताउँछन्।
‘म्याचको विषयमा जवाफ सँगसगैँ राजिनामा आएको छ,' उनले नेपालखबरसँग भने, 'टेक्निकल कमिटी र सचिवालय बसेर छलफल गर्छौँ, अब राजीनामा नै आएपछि के गर्ने भन्ने कुरा हुँदैन।’
उज्वेकिस्तानमा भएको एफसी महिला एसियन कप छनोटअन्तर्गत लाओसविरुद्धको खेलमा कप्तान कसलाई बनाउने भन्ने विषयमा मुख्य प्रशिक्षकसँग टोलीकी व्यवस्थापन बिन्द्रा देवान र हेड अफ डेलिगेट्स सरिला श्रेष्ठबीच भएको विवाद सार्वजनिक भएको थियो।
छनोटपछि टोलीका मुख्य प्रशिक्षकले कान्तिपुर दैनिकसँगको अन्तर्वार्तामा खेलाडीले पाउनुपर्ने सामान्य सुविधासमेत नदिएको भन्दै टोलीको व्यवस्थापनसँग असन्तुष्टि व्यक्त गरेका थिए।
अन्तर्वार्तामा आफ्ना कमजोरी बाहिरिएपछि संयुक्त पत्रकार सम्मेलन गर्दै उनीहरूले सबै कुराको दोष मुख्य प्रशिक्षक वाइल्डलाई नै थुपारिदिए।
विवादको मुख्य जड मुख्य प्रशिक्षक रहेको भन्दै महिला टोलीको अफिसियल र हेडअफ डेलिगेट्सले आफूहरूको सबै कमजोरी छोप्ने प्रयास गरेका थिए।
एन्फाले गत जेठको २३ गते मिट एण्ड ग्रिट कार्यक्रमको आयोजना गर्दै वाइल्डलाई सार्वजनिक गरेको थियो। महिला फुटबल इतिहासमा प्याट्रिक यूईएफए प्रो लाइसेन्स प्राप्त पहिलो प्रशिक्षक थिए। उनको आगमनले उत्साहित महिला टोलीले उज्वेकिस्तानमा उत्कृष्ट प्रर्दशन पनि गरेको थियो।
महिला फुटबललाई नयाँ उचाइमा पुर्याउने योजनासहित नेपाल आएका थिए वाइल्ड। प्रमुख प्रशिक्षकको रूपमा उनले एन्फालाई स्पष्ट खाका बुझाएका थिए- के गर्ने, कसरी गर्ने र त्यसका लागि कस्ता पूर्वाधार र व्यवस्थापन आवश्यक पर्छन् भन्नेबारे। सुरुमा एन्फा सकारात्मक देखियो। उनका सर्तहरूलाई सहमति जनायो।
वाइल्डले चाहेको संरचना, आवश्यक प्राविधिक सहयोग, तयारीका अवसर कुनै पनि कुरा पूरा हुने छाँटकाँट छैन। योजनाप्रति प्रतिबद्धता देखाउने भनिएको एन्फा आफैँ पछि हट्न थाल्यो।
छोटो अवधिमा उज्वेकिस्तानको भ्रमणजस्तो प्रारम्भिक यात्रामा टोलीले केही अनुभव बटुल्न त सक्यो, तर प्रशिक्षक गुमाउँदै फर्किनु त्यो यात्राको सबैभन्दा ठूलो खल्लोपन थियो।
वाइल्डका साथ खुलेका सम्भावनाहरू उनको बिदासँगै हालमा बन्द भएका छन्। महिला फुटबल फेरि पुरानै चक्रमा फर्किएको छ-जहाँ सुरुवातसँगै सपना चकनाचुर हुन्छन्, योजना अलपत्र पर्छन्।
Shares

प्रतिक्रिया