फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्रामको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रक्रिया सम्पन्न भएको छ।
नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण समितिले पेस गरेको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनलाई स्वीकृति प्रदान गरेको हो।
ईआईए स्वीकृतिसँगै परियोजनालाई आवश्यक सम्पूर्ण कानुनी प्रक्रिया सम्पन्न भएको छ। यसअघि नै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) लगायत सम्पूर्ण प्राविधिक कार्यहरू सम्पन्न गरिसकिएको फाप्ला क्रिकेट रंगशाला तथा खेलग्राम परियोजना अब निर्माणतर्फ अगाडि बढ्ने स्पष्ट मार्गचित्रमा प्रवेश गरेको छ।
नेपाल सरकारको प्राथमिकतामा रहेको फाप्ला खेलग्राम अन्तर्राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता आयोजना गर्न सक्ने गरी पूर्वाधार निर्माण गर्ने लक्ष्यसहित अघि बढाइएको हो।
खेलग्राम अन्तर्गत अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपको ५० हजार दर्शक क्षमताको क्रिकेट रंगशाला चरणबद्ध रूपमा निर्माण गरिनेछ। साथै, फुटबल मैदान, पौडी पोखरी, ट्र्याक एन्ड फिल्ड, मल्टि(स्पोर्ट्स हल, स्पोर्ट्स म्युजियम लगायतका पूर्वाधारहरू समेत समावेश गरिनेछ।
करीब २६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको यस परियोजना आगामी पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। फाप्ला रंगशाला तथा खेलग्रामको सफल कार्यान्वयनले सुदूरपश्चिम प्रदेशको खेलकुद एवम् पर्यटन विकासमा र समग्ररुपमा देशकै अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।









Shares

प्रतिक्रिया