स्टार फरवार्ड सावित्रा भण्डारी साम्बाले नेपाली राष्ट्रिय महिला फुटबल टोलीको एक सयौँ खेलमा टोलीको कप्तानी गरेकी छन्।
उज्वेकिस्तानमा आइतबारदेखि सुरु भएको एएफसी एसियन कप छनोटअन्तर्गत लाओसविरुद्धको खेलमा फरवार्ड साम्बाले टोलीको कप्तानी जिम्मेवारी पाएकी हुन्।
साम्बालाई टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डि वाइल्डेले कप्तानी जिम्मेवारी दिएका हुन्। यो सँगै साम्बा नेपाली महिला टोलीको ११ औँ कप्तान बनेकी छिन्। सन् २०१४ मा भारतमा भएको साफ महिला च्याम्पियनसिपमा भुटानविरुद्ध खेल्दै राष्ट्रिय टोलीमा डेब्यु गरेकी साम्बाले ५७ खेलमा ५६ गोल गरिसकेकी छिन्।
दक्षिण एसिया कै सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट फरवार्डको परिचय बनाएकी साम्बा युरोपियन लिग खेल्ने नेपालको पहिलो महिला खेलाडी हुन्।
एपीएफ फुटबल क्लबमा आवद्ध साम्बा इजरायलको हापोयल रानानामा अनुबन्ध भएपछि युरोपियन लिग खेल्ने पहिलो महिला खेलाडी बनेकी थिईन्। इजरायलपछि साम्बाले फ्रान्सको एन अभान्ट गुएङग्याम्पमा आवद्ध भएकी थिइन्।
साम्बाअघि नेपाली टोलीको कप्तानी गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाले गर्दै आएकी थिइन्। एञ्जिलाले विं.स.२०७९ को भदौमा घरेलु मैदानमा भएको साफ च्याम्पियनसिपबाट टोलीको कप्तानी सम्हालेकी थिइन्।
नेपालले पहिलो पटक सन् १९८६ मा अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दा रमा सिंहले नेपाली टोलीको कप्तानी गरेकी थिईन्। नेपालको पहिलो कप्तान सिहंले सन् १९८६ देखि ०८७ सम्म नेपालको कप्तानी जिम्मेवारी सम्हालेकी थिइन्।
त्यसपछि सन् १९९० मा कमला हिराचन, १९९९ मा मिरा चौधरी नेपालको कप्तान बने। सन् २०१० देखि २०१२ सम्म जमुना गुरुङ, २०१३ मा चन्द्रा भण्डारी, २०१६ देखि २०१६ सम्म अनु लामा र २०१७ मा सजना राना मगरले नेपाली टोलीको कप्तानी जिम्मेवारी सम्हालेका थिए। सन् २०१७ मा रेनुका नगरकोटे, २०१८ मा निरु थापा नेपाली टोलीको कप्तान बनेका थिए।
यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा)ले सामाजिक सञ्जाल फेसबुकमार्फत रेनुका नगरकोटेलाई कप्तानको जिम्मेवारी दिइएको भन्दै सुरुवाती ११ खेलाडीको नाम सार्वजनिक गरेको थियो।
Shares

प्रतिक्रिया