अखिल नेपाल फुटबल संघ (एन्फा)को अपिल समितिको निर्णयसँगै विभागीय टोली एपीएफ क्लब ए डिभिजनमा नै रहने भएको छ।
एपीएफ ए डिभिजनमा नै यथावत् रहँदा चार पटकको च्याम्पियन थ्रिस्टार क्लब भने बी डिभिजनमा घटुवा हुने भएको हो।
थ्रिस्टार क्लबले लिगको अन्तिम खेलमा नियमविपरीत खेलाडी मैदानमा उतारेको भन्दै एपीएफले उजुरी दिएको थियो।
एपीएफको उजुरीका आधारमा अपिल समितिले २ वर्षभन्दा बढी समय लगाएर निर्णय गरेसँगै थ्रिस्टार क्लब रेलिगेसनमा पर्ने निश्चित भएको हो।
एन्फाले यसबारेमा औपचारिक निर्णय सार्वजनिक नगरे पनि क्लबहरुलाई पत्राचार गरिसकेको एन्फा स्रोतले बताएको छ।
सहिद स्मारक ए डिभिजन लिग २०७९ को अन्तिम खेलमा थ्रिस्टारले जावलाखेललाई १–० गोलअन्तरले पराजित गरेपछि थ्रिस्टार रेलिगेसनबाट जोगिएको थियो।
थ्रिस्टारको जितले एपीएफ क्लब रेलिगेसनमा परेको थियो। लगत्तै एपीएफले थ्रिस्टारले नियमविपरीत दुई विदेशी खेलाडी खेलाएको भन्दै उजुरी दिएका थिए।
थ्रिस्टारले जावलाखेलविरुद्ध भिषा नभएको पिटर सेगुन र अजायी मार्टिन्सलाई खेलाएको आरोप एपीएफले लगाएको थियो।
एपीएफको उजुरीको आधारमा एन्फाको अनुसासन समितिले २०८० पुसमा थ्रिस्टारलाई ३ लाख र पिटर सेगुन र अजायी मार्टिनलाई जनही ५० रुपैयाँ जरिवाना तोक्दै कारबाही गरेको थियो।
तर थ्रिस्टार र एपीएफ दुबै क्लबले कारबाही मान्य नभएको बताउँदै आएको थियो।
एपीएफले जरिवानासँगै नियम विपरित खेलाडी खेलाउँदा सो खेलको नतिजा विपक्षी टोलीलाई दिनुपर्ने माग गर्दै आएको थियो।
सोही मागअनुसार एन्फाको अपिल कमिटिले एपीएफको पक्षमा निर्णय गरेको हो। सो खेलको नतिजा जावलाखेललाई दिएको छ।
अपिल समितिको निर्णयअनुसार थ्री स्टारको २६ खेलमा २९ अंक मात्र हुनेछ। समान खेलबाट ३० अंक जोडेको एपीएफ १२औँ स्थानमा रहँदा थ्रिस्टार १३औँ स्थानमा झरेर बी डिभिजनमा घटुवा हुने भएको हो।
थ्रिस्टारले वि.सं. २०५४ सालदेखि ए डिभिजन लिग खेल्दै आएको छ। थ्रिस्टारले सन् १९९७, १९९८, २००४ र २०१२–१३ मा ए डिभिजन च्याम्पियन बनेको थियो।
यो पनि-
Shares

प्रतिक्रिया