खेल


राष्ट्रपति रनिङ सिल्डको दोस्रो दिन ४ नयाँ जुनियर राष्ट्रिय कीर्तिमान

राष्ट्रपति रनिङ सिल्डको दोस्रो दिन ४ नयाँ जुनियर राष्ट्रिय कीर्तिमान

नेपालखबर
जेठ २९, २०८२ बिहिबार १५:४१, काठमाडौँ

पन्ध्रौँ केन्द्रीय राष्ट्रपति रनिङ खेलकुदको दोस्रो दिन बिहीबार एथलेटिक्समा ४ नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम भएका छन्। छात्र ज्याभ्लिन थ्रो, छात्रा ८ सय मिटर दौड र छात्र/छात्राको ४ गुणा ४ सय मिटर रिलेमा कीर्तिमान बन्यो।

पहिलो दिन २ कीर्तिमान बनेका थिए। बागमती प्रदेशका प्रवीण राना मगरले छात्र १ सय मिटर दौड तथा सुदूरपश्चिम प्रदेशकी संगीता विकले छात्रा ४ सय मिटर दौडमा कीर्तिमान बनाएका थिए।

दोश्रो दिनको खेल सकिँदा एथलेटिक्समा कुल ६ कीर्तिमान बनिसकेका छन्। तेश्रो तथा अन्तिम दिन शुक्रबार ८ स्वर्णको टुंगो लाग्ने छ। पहिलो दिन १० र दोश्रो दिन ८ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको छात्र ज्याभ्लिन थ्रोमा लुम्बिनी प्रदेशका राहुल थारुले २७ वर्षअघिको कीर्तिमान भंग गर्दै नयाँ कीर्तिमान रचे। उनले ५७।४० मिटर थ्रो गर्दै २०५५ साल धीरेन्द्रजंग शाहले बनाएको ५५।५० मिटरको कीर्तिमान भंग गरेका हुन्। कर्णाली प्रदशेका सुशान्त नेपाली दोश्रो तथा सुदूरपश्चिमका लोकेश एडी तेस्रो भए।

छात्रा ८ सय मिटर दौड २ मिनेट १७।९ सेकेन्डमा तय गर्दै गण्डकी प्रदेशकी नारायणी भण्डारीले कीर्तिमान बनाइन्। नारायणीले २०८१ सालमा सरिता खड्काले बनाएको २ मिनेट २८.५ सेकेन्डको कीर्तिमान तोडिन्। बागमती प्रदेशकी भगवती खड्का दोश्रो तथा सुदूरपश्चिमकी संगीता विक तेश्रो भए।

छात्र ४ गुणा ४ सय मिटर रिलेमा बागमतीका प्रवीन राना मगर, निरज थारु, हस्त सुनार र शन्तबहादुर दराईको टोलीले कीर्तिमानी स्वर्ण जिते। उक्त टोलीले निर्धारित दूरी ३ मिनेट ३०।९ सेकेन्डमा तय गरे।

यसअघि चन्द्र बोहरा, अमित, कविर विक र सुक्वीरको टोलीको नाममा ३ मिनेट ३१.० सेकेन्ड (२०८० साल) को कीर्तिमान थियो। गण्डकी दोस्रो तथा लुम्बिनी तेस्रो बने।

सोही स्पर्धाको छात्रामा बागमतीकै दिना गोपाली, अनिशा थारु, भगवती खड्का र अस्मिता भुजेल सम्मिलित टोलीले कीर्तिमान स्थापित गरे। टोलीले निर्धारित दूरी तय गर्न ४ मिनेट १२.८ सेकेन्ड समय खर्चे।

४ मिनेट १७.२ सेकेन्डको कीर्तिमान भावना फर्साल, सरिता खड्का, हिमाली शाही र कृष्णा राणाको नाममा रहेको थियो। उनीहरूले २०८१ सालमा कीर्तिमान बनाएका थिए। सुदूरपश्चिम दोश्रो तथा गण्डकी तेश्रो स्थानमा रहे।

छात्रा ज्याभ्लिन थ्रोमा सुदूरपश्चिमकी पूजा साउदले स्वर्ण जितिन्। पूजाले ३०।३२ मिटर थ्रो गरिन्। कोशीकी उर्मिला राईले रजत तथा बागमतीकी सिर्जना श्रेष्ठले कांस्य जिते।

छात्र ८ सय मिटर दौडमा सुदूरपश्चिमका विक्रम विष्टले शीर्ष स्थान हात पारे। उनले २ मिनेट ०२।७ सेकेन्डमा निर्धारित दूरी पार गरे। कर्णालीका धीरेन्द्र विक दोश्रो तथा लुम्बिनीका आयुश थारु तेस्रो बने।

छात्र लङजम्पमा गण्डकीका प्रदीप महतोले ६.६९ मिटर जम्प गर्दै पहिलो भए। सुदूरपश्चिमका विवेक चौधरी दोश्रो तथा बागमतीका दीपेन्द्र गिरी तेश्रो भए।

सो स्पर्धाको छात्रामा बागमतीकी अनिशा थारुले स्वर्ण जितिन्। अनिशाले ५.१८ मिटर जम्प गरिन्। सुदूरपश्चिमकी पवित्रा चौधरीले रजत तथा सुदूरपश्चिमकै रेनुका ऐरले कांस्य हात पारे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad