यूईएफए नेसन्स लिगको उपाधिका लागि आइतबार राति पोर्चगल र स्पेन भिड्दै छन्। एलियान्ज एरिनामा हुने फाइनल खेल मध्यराति हुनेछ।
नेसन्स लिगको फाइनलमा पोर्चगल र स्पेन जुन टोलीले उपाधि जिते पनि दोस्रो पटक उपाधि जित्ने टोली बन्नेछन्।
स्पेनले सन् २०२३ मा भएको नेसन्स लिगको फाइनलमा क्रोएसियालाई टाइब्रकेरमा ५–४ ले हराउँदै पहिलो पटक उपाधि उचालेको थियो। निर्धारित समय र अतिरिक्त समयमा गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो।
पोर्चुगलले भने सन् २०१९ मा भएको फाइनलमा नेदरल्यान्ड्सलाई १–० ले हराउँदै उपाधि जितेको थियो।
पोर्चुगलले सेमिफाइनलमा जर्मनीलाई २–१ गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डो र फ्रान्सिस्को कन्सिकाओले गोल गरेका थिए।
यता स्पेनले भने फ्रान्समाथि ५–४ को रोमाञ्चक जित निकाल्दै पोर्चुगलसँगको उपाधि भिडन्त पक्का गरेको थियो।
स्पेनको जितमा लामिन यामलले दुई तथा निको विलियम्स, मिकेल मेरिनो र पेड्रीले समान एक गोल गरेका थिए।
पोर्चगल र स्पेनबीच अहिलेसम्म सबैखाले प्रतियोगितामा गरेर ४२ पटक भेट भएको छ। त्यो भेटमा स्पेनले १९ खेलमा जित हात पारेको छ। ६ खेलको नतिजा पोर्चगलले आफ्नो पक्षमा पारेको छ। १७ खेल भने बराबरीमा सकिएको छ।
सन् २०२१ मा भएको मैत्रीपुर्ण खेलमा स्पेन र पोर्चगलले गोलरहित बराबरी खेलेका थिए। सन् २०२२ मा भएको मैत्रीपुर्ण खेल १–१ को बराबरीमा सकिएको थियो। सन् २०२२ मा नै भएको युईएफए नेसन्स लिगमा स्पेनले पोर्चगललाई १–१ ले हराएको थियो।
फाइनल अघि जर्मनी र फ्रान्स तेस्रो स्थानका लागि खेल्नेछन्।
जर्मनी र फ्रान्स अहिलेसम्म ३५ खेलमा भेट भएका छन्। तीमध्ये १५ खेलमा फ्रान्सले जित निकाल्दा १२ खेलको नतिजा जर्मनीलाई सुम्पेको छ। ८ खेल बराबरीमा सकिएको छ।
पछिल्ला तीन खेलमा भएको नतिजालाई हेर्ने हो भने जर्मनीले दुई खेलमा जित निकालेको छ। एक खेलको नतिजा फ्रान्सको पक्षमा छ।
सन् २०२१ मा भएको युईएफए युरोपियन च्याम्पियनसिपमा भएको भेटमा फ्रान्सले जर्मनीलाई १–० ले हराएको छ। सन् २०२३ मा भएको मैत्रीपूर्ण खेलमा जर्मनीले फ्रान्सलाई २–१ ले पराजित गरेको छ। सन् २०२४ मा भएको मैत्रीपूर्ण खेलमा जर्मनीले फ्रान्समाथि २–० को जित दर्ता गरेको छ।
Shares

प्रतिक्रिया