हङकङको रेस्टुरेन्ट क्षेत्रमा चिरपरचित नाम किङ प्यारोट ग्रुपले सहरका ९ रेस्टुरेन्ट बन्द गरेको छ।
३३ वर्षको इतिहास भएको यो ग्रुपले हठात् बन्दको घोषणा गरेसँग १०० भन्दा बढी कर्मचारी प्रभावित भएका छन्।
कुनै बेला हङकङमा २० भन्दा बढी रेस्टुरेन्ट सञ्चालन गरेको यो ग्रुपले शुक्रबार ९ आउटलेट बन्द गर्ने निर्णयबारे कर्मचारीलाई जानकारी गराएको थियो। र, उनीहरूको बाँकी ज्याला सोही स्थान भुक्तान गरेको थियो।
होटल, खाद्य तथा पेय पदार्थ कर्मचारी संघकी महासचिव नरिन यिपका अनुसार रोजगारदाताले सूचनाको सट्टा एक महिनाको तलब, बिदाई भुक्तानी र बिदाको तलब जस्ता अन्य हकहरूको बारेमा केही उल्लेख नगरी मे र जुनको बाँकी ज्याला मात्र भुक्तान गरेको थियो।
‘महिनादेखि १५ वर्षसम्मको सेवा अवधि भएका १०० भन्दा बढी कर्मचारीले हामीबाट सहयोग खोजिरहेका छन्,’ महासचिव यिप भन्छिन्, ‘हाम्रो अनुमान छ कि रोजगारदाताले १० लाख हङकङ डलरभन्दा बढी भुक्तान गर्न बाँकी छ। हामी प्रभावित कामदारलाई सहयोगको लागि हामीकहाँ आउन आह्वान गर्दछौँ।’
बासिन्दाहरू खर्च गर्न उत्तरतिर लागेका कारण हङकङमा व्यवसाय बन्द हुने क्रम बढेको व्यवसायीहरू बताउँछन्।
गतमहिना पनि ३३ वर्ष नै पुरानो कन्जी रेस्टुरेन्ट चेन ओसन एम्पायर फुड सप बन्द भएको थियो।
त्यस्तै, ७ अप्रिलमा सहरको चर्चित खाना डेलिभरी प्लेफर्म ‘डेलिभरू’ले व्यवसाय बन्द गरेको थियो। सिनेमा हल पनि धमाधम बन्द भइरहेका छन्।
श्रम विभागले किङ प्यारोट ग्रुपको कदमबारे चिन्ता व्यक्त गर्दै प्रभावित कर्मचारीलाई सहयोग लिन आह्वान गरेको छ। उनीहरू सोधपुछको लागि श्रम सम्बन्ध विभागको शाखा कार्यालयमा जान सक्ने बताएको छ।
Shares

प्रतिक्रिया