खेल


महिला फुटबल टोलीको प्रशिक्षक बन्न ४ महिलासहित २२ जनाको आवेदन

महिला फुटबल टोलीको प्रशिक्षक बन्न ४ महिलासहित २२ जनाको आवेदन

लक्ष्मी जि.सी
जेठ १४, २०८२ बुधबार १६:१३, काठमाडौँ

नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षक बन्न २२ जना इच्छुक देखिएका छन्। 

एन्फाको मागअनुसार २२ जनाले मुख्य प्रशिक्षक बन्न आवेदन दिएका हुन्। आवेदन दिनेमध्ये चार जना महिला पनि छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले महिला टोलीको प्रशिक्षक बन्नका लागि प्रो–लाइसेन्स प्राप्त प्रशिक्षकको आवेदन माग गरेको थियो।

एन्फा स्रोतका अनुसार प्रो–लाइसेन्स गरेकादेखि एएफसी ए, यूईएफए प्रो, एएफसी प्रो, यूईएफए ए लाइसेन्स गरेकासम्मले आवेदन दिएका छन्। 

भारतसहित स्पेन, इटाली, अस्ट्रेलिया, पोल्यान्ड, सर्विया, ब्राजिल, अमेरिका, क्रोएसिया, ग्रिस, क्यानडा, इरान र बेल्जियमलगायत देशबाट आवेदन परेको हो। उनीहरूमध्ये केही प्रशिक्षकले नेपाल सुपर लिग (एनएसएल)को टोली समेत हेरिसकेका छन्। 

एन्फाले केही दिनमा नै मुख्य प्रशिक्षक सार्वजनिक गर्ने तयारी गरेको छ। स्रोतका अनुसार विदेशी प्रशिक्षकसँग एन्फाले सुरुवातमा १ वर्षको सम्झौता गर्ने तयारी गरेको छ। 

एन्फाले गत वैशाख ८ गते राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षक र ‘पर्फमेन्स एनालिस्ट’को आवेदन खुलाएको थियो। 

यसैबीच, नेपाली महिला टोली थाइल्यान्डसँगको एक अभ्यास र एक मैत्रीपूर्ण खेल खेल्न आज बुधबार त्यसतर्फ प्रस्थान गरेको छ। 

नेपाली टोली फर्किएर आउँदा विदेशी मुख्य प्रशिक्षक पाउने एन्फा महासचिव किरण राईले बताए।

उनले भने, ‘थाइल्यान्डबाट नेपाली टोली स्वदेश फर्किँदा प्रो लाइसेन्स प्राप्त विदेशी प्रशिक्षक पाउनेछन्। अहिले रहेको अफिसियलको टोलीमा रहेका प्रशिक्षकको व्यवस्थापन पनि गरिनेछ।’ 

एन्फा स्रोतका अनुसार वर्तमान मुख्य प्रशिक्षक राजेन्द्र तामाङलाई सहायक प्रशिक्षकको जिम्मेवारी दिइनेछ। 

स्रोतले भन्यो, ‘अहिलेको अफिसियल टोलीमा रहेका केही सदस्यहरुका हेरफेर हुनेछ, मुख्य प्रशिक्षक राजेन्द्र तामाङ सहायक प्रशिक्षकको भुमिकामा हुनुहुनेछ, विदेशी र प्रो लाइसेन्स प्रशिक्षक आउने भएकाले राजेन्द्र जीले पनि केही कुरा सिक्नुहुनेछ, जसले पछि महिला टोलीलाई नै फाइदा पुग्नेछ। यस्तै महिला टोलीले नयाँ टिम म्यानेजर पाउनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad