खेल


सन्दीपले ५ दिनअघि नै क्यानलाई सम्झौतामा नरहने पत्र पठाएका थिए

सन्दीपले ५ दिनअघि नै क्यानलाई सम्झौतामा नरहने पत्र पठाएका थिए

नेपालखबर
बैशाख ३१, २०८२ बुधबार १४:५४, काठमाडौँ

नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले ५ दिन पहिले नै पत्र पठाएर नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा नरहने जानकारी गराइसकेको खुलेको छ। तर स्कटल्यान्डमा हुने आईसीसी लिग-२ अन्तरगत त्रिकोणात्मक सिरिजका लागि जाने टोलीमा रहेका सन्दीपको पत्रबारे सन्दीप र क्यान दुवै पक्ष मौन थिए। 

बुधबार क्यानले एक कार्यक्रमबीच सन्दीपसहित स्कटल्यान्ड जाने टोलीको बिदाइ गरेको केही समयपछि भने सन्दीप आफैँले सामाजिक सञ्जालमार्फत आफू क्यानको सम्झौतामा नरहने सार्वजनिक गरेका हुन्। 

नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतरबहादुर चन्दले भने, ‘सन्दीपले क्यानमा चार पाँच दिन पहिले नै निवेदन दिइसकेका थिए। उनले आफू क्यानको सम्झौतामा नरही खेल्ने भनेका छन्। तर यस विषयमा क्यानले छलफल गर्न बाँकी नै थियो। बुधबार सन्दीपले आफैँ सार्वजनिक गरे। अब बस्ने बोर्डमा सन्दीपको पत्रबारे छलफल हुन्छ।’

सन्दीपले क्यानलाई पठाएको पत्रमा आफू क्यानको सम्झौतामा नरही स्वतन्त्र रहेर खेल्न चाहन्छु भनेका छन्। क्यानको सम्झौतामा नरहे पनि उनले राष्ट्रिय टिमको सदस्यका रुपमा प्रायः नियम पालना गर्नै पर्ने र केही सर्तमा मात्रै छुट हुने अध्यक्ष चन्दले नेपालखबरलाई बताए। 

चन्दले उक्त पत्रमा क्यानप्रति वा कसैप्रति कुनै पनि असन्तुष्टि नभई ‘इन्डिभिजुअल’ रुपमा खेल्न चाहेको उल्लेख रहेको बताए। 

लिग-२ अघि बेलायतमा हुने अभ्यासका लागि जान लागेको टोलीलाई क्यानका अध्यक्ष चन्द, सचिव पारस खड्का, प्रवक्ता छुम्बी लामालगायतले बिदाइ गरेका थिए। 

तर बिदाइ भएको केही समयपछि सन्दीपले सामाजिक सञ्जालमा लेखेका छन्, ‘धेरै सोच विचारपछि मैले यसपटक नेपाल क्रिकेट संघको केन्द्रीय सम्झौतामा नरहने निर्णयमा पुगेको छु। म क्रिकेट र राष्ट्रबाट एक कदम पनि टाढा जान खोजेको होइन। व्यक्तिगत र व्यवसायीक रुपमा अगाडि बढ्ने दिशामा एउटा कदम हो।’ 

आफूलाई निरन्तर सहयोग गरेको भन्दै क्यानप्रति आभार व्यक्त गरेका छन्। नेपाल क्रिकेर र आफ्नो क्रिकेट विकासमा क्यानको महत्वपूर्ण भूमिका रहेको पनि सन्दीपले बताएका छन्। 

‘जीवन भनेको विकासशील बाटो र जिम्मेवारीहरूले भरिएको यात्रा हो। अझै धेरै कुराहरू सिक्न बाँकी छ। धेरै समय बाँकी छ। धेरै गर्न बाँकी छ। म क्रिकेट र त्यसपछिको यात्राका लागि उत्साहित छु’, सन्दीपले लेखेका छन्, ‘कहिलेकहिँ छनोटहरू उद्देश्य र विकासको ठाउँबाट गरिन्छ।’

नयाँ उर्जा र खुला हृदयका साथ आफ्नो यात्रा जारी रहेको भन्दै सन्दीपले आफूलाई विश्वास गरेकोमा धन्यवाद दिएका छन्। क्यानको केन्द्रीय सम्झौतामा सन्दीपसहित ५ खेलाडीलाई ए ग्रेडमा राखिएको छ। ए ग्रेडका खेलाडीले मासिक एक लाख रुपैयाँ तलब पाउँछन्। 

त्यसअघि पनि ए ग्रेडमै रहेका सन्दीपबीचमा मुद्दा खेपिरहेका कारण निलम्बनमा परेका थिए। त्यसपछि क्यानको सम्झौतामा नरही उनले राष्ट्रिय टिमबाट र घरेलु लिग पनि खेलेका थिए।

बेलायतमा शुक्रबारदेखि नै नेपाली टोलीले अभ्यास खेल खेल्ने छ। एकदिवशीय र टि–२० का अभ्यास खेलपछि नेपाली टोली स्कटल्यान्ड पुग्नेछ। रोहित पौडेलको कप्तानीमा रहेको टोलीको उपकप्तानको जिम्मेवारी दीपेन्द्र सिंह ऐरीले पाएका छन्। 

चार वर्ष पहिले ज्ञानेन्द्र मल्लको कप्तानीमा पनि उपकप्तान रहेको दीपेन्द्र लामो समयपछि उपकप्तानको जिम्मेवारीमा फर्किएका हुन्। तर उनले रोहितको अनुपस्थितिमा टोलीको कप्तानी भने गर्दै आएका थिए। क्यानले यसपटक उनलाई औपचारिक रुपमै उपकप्तान घोषणा गरेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad