खेल


धादिङ टु लन्डन : ओलम्पियन सन्तोषीले आफ्नै कीर्तिमान तोडेर दिएको सुखद संकेत

धादिङ टु लन्डन : ओलम्पियन सन्तोषीले आफ्नै कीर्तिमान तोडेर दिएको सुखद संकेत

प्रजय शुक्ल
बैशाख २४, २०८२ बुधबार १०:५८, लन्डन

संसारका हरेक धावकका लागि एउटा सपना हो– लन्डन म्याराथन। जीवनमा कम्तीमा एकचोटि त्यो ऐतिहासिक म्याराथनको अनुभूति गर्न पाउनु, त्यो पनि लन्डन जस्तो सहरमा, साँच्चै अविश्वसनीय अनुभव हुन्छ। 

मैले पनि केही वर्षअघि त्यो दौड पूरा गरेको थिएँ, त्यसैले यसपटक म्याराथनमा नेपाली धावकहरूको सहभागिताप्रति अझ चासो थियो। नेपालकी ओलम्पियन सन्तोषी श्रेष्ठ यसपटक लन्डन म्याराथनमा दौडन आएको थाहा पाएँ, अनि उनलाई भेट्ने चाहना झनै बलियो भयो।

सन्तोषी अहिले नेपालकै सबैभन्दा तीव्र गतिकी धाविका हुन्। यसपटक उनले लन्डन म्याराथनमा आफैँले बनाएको राष्ट्रिय कीर्तिमान भत्काउँदै नेपाली खेलकुदमा ऐतिहासिक मोडको संकेत दिइन्।

दौडको दिन उनलाई भेट्न सकिनँ। तर लन्डन म्याराथनको एपमार्फत उनको दौडलाई निरन्तर ट्र्याक गरिरहेँ। दौडको अन्तिम क्षणहरूमा उनले आफ्नै राष्ट्रिय कीर्तिमान तोडिन्। त्यो मेरो लागि मात्र होइन, हरेक नेपालीका लागि गौरवको क्षण थियो। 

धादिङको ज्वालामुखी गाउँपालिका, जहाँ सन्तोषीको कथा सुरु हुन्छ, त्यहाँबाट अन्तर्राष्ट्रिय मञ्चसम्मको उनको यात्रा साँच्चै प्रेरणादायी छ। सानो गाउँ, सीमित अवसर—तर असीमित सपना। उनी नेपाली खेलकुदमा उदाहरणीय मात्र होइन, आत्मविश्वास र साहसको प्रतीक समेत बनेकी छिन्।

लन्डन म्याराथनपछि केही मिनेटमै नेपालखबरमा उनको ऐतिहासिक उपलब्धि प्रकाशित भयो। पछि सन्तोषीसँग कुराकानी हुँदा उनले त्यो खबर सबैभन्दा चाँडो सम्प्रेषण गरेकोमा नेपालखबरलाई धन्यवाद दिइन्।

हामीले कुराकानी गर्न थालेका केही मिनेटमै मैले थाहा पाएँ– सन्तोषीमा उत्साह र आत्मविश्वासको अथाह स्रोत छ। 

उनले दौडको स्मरण गर्दै भनिन्, ‘लन्डन म्याराथन साँच्चिकै रमाइलो थियो। मसँग को–को दौडिरहेका थिए, मैले ध्यानै दिन सकिनँ। त्यो क्षण मेरो लागि अविस्मरणीय रहृयो। अझै विश्वास लागिरहेको छैन– मैले आफ्नो रेकर्ड तोडेँ।’

सन्तोषीको दौड ६ कक्षामा भाग लिएको स्कुलको प्रतियोगिताबाट सुरु भयो। 

‘त्यो पहिलो दौडमा म प्रथम भएँ। त्यहीँबाट मेरो यात्रा सुरु भयो,’ उनले हाँस्दै सम्झिन्।  

त्यसबेलादेखि दौड र अध्ययनलाई सँगसँगै अघि बढाउँदै उनले कहिल्यै पछि फर्केर हेरिनन्।

२०१९ मा दक्षिण एसियाली खेलकुदमा उनले पहिलो औपचारिक अन्तर्राष्ट्रिय दौड पूरा गरिन्। सो १० हजार मिटरको दौडमा उनले स्वर्ण जितिन्। त्यही स्वर्णले उनलाई देशकै आशाको केन्द्र बनायो। 

त्यसयता उनले एकपछि अर्को कीर्तिमान तोडिरहेकी छन्। २०२२ मा हाफ म्याराथनमा १ घण्टा १४ मिनेट १४ सेकेन्ड, राष्ट्रिय खेलकुदमा स्वर्ण, २०२३ मा जर्मनीमा १० हजार मिटरमा ३४ मिनेट ३१ सेकेन्डको राष्ट्रिय रेकर्ड। यस्तै सन्तोषीले २०२४ मा बंगबन्धु शेख मुजीब ढाका म्याराथनमा २ घण्टा ४६ मिनेट २२ सेकेन्डमा दौड पूरा गरेर राष्ट्रिय रेकर्ड कायम गरेकी थिइन्।

२०२४ को पेरिस ओलम्पिक उनको जीवनको अर्को महत्त्वपूर्ण मोड बन्यो। पेरिस ओलम्पिकको म्याराथन रुट सहज थिएन। उनी देशको इज्जत र गरिमा बोकेर दौडेकी थिइन्। 

उनी सो रेस कुनै बाधाबिनै पूरा गर्न चाहन्थिन्। अन्ततः उनले २ घण्टा ५५ मिनेट ६ सेकेन्डमा दौड पूरा गर्दै २८ वर्षपछि ओलम्पिक म्याराथनमा नेपाली महिलाको उपस्थिति पुनः दर्ज गराइन्।

दौडपछि उनलाई पेरिस ओलम्पिक विजेता नेदरल्यान्ड्सका सिफान हसनले अँगालो हालेको दृश्य विश्वभरका नेपालीले हेरे। 

‘ओलम्पिकमा देशको प्रतिनिधित्व गरेर दौड पूरा गर्नु नै ठूलो कुरा थियो। सिफान हसन जस्तो धाविकाबाट पाएको त्यो अँगालो मेरो जीवनकै अमूल्य क्षण रहृयो,’ सन्तोषी सम्झिन्छिन्।

यसपालिको लन्डन म्याराथनमा नेपाल रन यूकेको सहयोगमा सहभागी भएकी उनले २ घण्टा ४२ मिनेट ५० सेकेन्डमा दौड पूरा गरिन्। जसका कारण बंगबन्धु शेख मुजीब ढाका म्याराथनको आफ्नै रेकर्ड तोडियो। 

भावुक हुँदै उनी भन्छिन्, ‘बकिङ्गम प्यालेसनजिक म फिनिसिङ लाइनतिर पुग्दै थिएँ। माइकबाट घोषणा भयो- ‘नेपालकी सन्तोषी श्रेष्ठ आउँदै छिन्, उनले आफनो राष्ट्रिय कीर्तिमान तोड्दै छिन्।’ त्यो सुन्दा आँखा रसाए।’

सन्तोषीले सफलताको श्रेय सबैको सहयोगलाई दिइन्। 

‘नेपाल रन यूके र सन्तोष राई दाजुको ठूलो समर्थन पाएकोले मैले अझ राम्रो गर्न सकेँ,’ उनी भन्छिन्।

आज सन्तोषी श्रेष्ठ केवल धाविका मात्र होइनन्, नेपालका हजारौँ युवतीहरूको लागि प्रेरणा बनेकी छिन्। धादिङका साँघुरा बाटोबाट सुरु भएको उनको यात्रा लन्डनका विशाल सडकसम्म पुगेको छ। उनको दौड हजारौँका लागि उज्यालो भविष्यतर्फ दौड्ने बाटो बनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad