लामिन यमालले भविष्यमा कस्तो फुटबल खेल्लान् भनेर अनुमान गर्नु बेकार छ।
किनकि उनको खेल जीवन आजै समाप्त भए पनि उनको उपलब्धि ९९ प्रतिशत फुटबलरहरूको भन्दा गतिलो छ। युरो कप र स्पेनिस कप उनले जितिसकेका छन्। चाँडै लालिगाको उपाधि पनि थपिन सक्छ।
उनको सर्वकालिक महान् खेलाडीका दाबेदार लियोनल मेस्सीसँग पनि तुलना गरिँदै आएको छ।
हुन पनि यी विङ्गरको उदय साँच्चै नै आश्चर्यजनक देखिन्छ। यी असाधारण प्रतिभाले बार्सिलोनाको सिनियर टोलीमा पूर्वप्रशिक्षक जाभीको कार्यकालमा मौका पाएका थिए। त्यतिबेला बार्सिलोना चरम आर्थिक संकटबाट गुज्रिरहेको थियो।
अनेकौँ महँगा खेलाडी किन्दै घाटा बेहोरिरहेको बार्सिलोनाले अन्ततः एक असाधारण प्रतिभा फेला पारेको थियो, आफ्नै एकेडेमी ला मासियामा। पछिल्लो समय ला मासियाबाट सिनियर टोलीका गाभी, पाउ कुबार्सी, फर्मिन लोपेज र अलेहान्द्रो बाल्डेजस्ता खेलाडी उत्पादन भएका छन्, जसले पेप ग्वार्डिओलाको दस्तालाई टक्कर दिन सक्छ।
यमाल १५ वर्षका छँदै पीएसजीले लैजान खोजेको थियो। तर, जाभीले उनलाई क्लबमा रोकेका थिए।
खासमा जाभीले उनलाई बार्सिलोनाको सिनियर टोलीमा मौका दिने वाचा गरेका थिए। नभन्दै अप्रिल २०२३ मा उनले १५ वर्ष, नौ महिना १६ दिनका यमाललाई डेब्यु गराए। उनी बार्सिलोनाबाट खेल्ने सबैभन्दा कान्छा खेलाडी बने।
यमालले बार्सिलोनासँग गरेको अनुबन्धमा उनलाई किन्न १ अर्ब युरो दिनुपर्ने सर्त रहेको बताइन्छ।
‘यमालजस्ता खेलाडीका लागि हामीसँग २० करोड युरोको प्रस्ताव आइरहेको छ र हामी अस्वीकार गरिरहेका छौँ,’ क्लबका अध्यक्ष जोन लापोर्ताले गतवर्ष भनेका थिए, ‘हामी उनलाई विश्वास गर्छौं।’

उमेरको कुरा छाड्दा पनि यमालले मैदानमा यस्ता दुई वर्ष बिताइसकेका छन्, जसको अनुभव खेलाडीहरूले विरलै लिन पाउँछन्। २०२४ मा उनी स्पेनमा गुगलमा सबैभन्दा बढी सर्च गरिएका खेलाडी थिए।
डेब्युको पहिलो वर्ष लालिगामा उनले मात्र सात मिनेट खेल्न पाए। त्यो वर्ष बार्सिलोनाले लिग जित्यो। दोस्रो वर्ष उनी युरो जितेर विश्वभरका फुटबल प्रशंसकहरूको सबैभन्दा प्रिय खेलाडी बने। उनले यङ प्लेयर अफ द टुर्नामेन्ट पनि हात पारे।
यमालले मेस्सीसँगको तुलनालाई खारेज गरेका छन्। बार्सिलोनाका लागि आफ्नो एक सयौँ खेलअघि गत मंगलबार उनले पत्रकार सम्मेलनमा भनेका थिए, ‘म आफूलाई उनीसँग तुलना गर्दिनँ। किनकि म आफूलाई कसैसँग पनि तुलना गर्दिनँ। मेस्सीसँग त झन् कुरै भएन। उनी इतिहासकै उत्कृष्ट खेलाडी हुन्।’
‘यस्ता तुलनाको अर्थ छजस्तो मलई लाग्दैन। अझ मेस्सीसँगको तुलनाको त अर्थ छँदै छैन। म आफैँसँग रमाउने छु,’ उनले थपेका थिए।
यमालले यसो भने किनकि सायद उनी मेस्सीसँगको तुलनाले सिर्जना गर्ने दबाबसँग परिचित छन्। र, त्यस्तो दबाब उदाउँदा खेलाडीहरूका लागि कति घातक हुन्छ, त्यो पनि उनलाई थाहै छ।
उसो त मैदानबाहिर पनि यमाल हरक्षण दबाबमा छन्। एकातिर प्रसिद्धि छ भने अर्कोतिर सामाजिक सञ्जालले गर्दा व्यक्तिगत जीवन सबैसामु उदांगो छ।
उनले युरो जितेको केही महिनापछि नै यमालका बुवा मुनिर नासरावीमाथि छुरा प्रहार भयो। कुकुर डुलाइरहेका उनमाथि सामान्य विवादपछि छुरा प्रहार भएको रिपोर्टहरूमा जनाइएको थियो। ३५ वर्षीय मुनिर आईसीयूमा भर्ना हुनुपरेको थियो। यस घटनामा चारजना पक्राउ परेका थिए।

यमालको जन्म २००७ मा मोरक्कोबाट स्पेन बसाइँ सरेका मुनिर र शिला एबानाको कोखबाट भएको थियो। उनी स्पेनको मातारो सहरमा हुर्केका थिए। युरो कपमा सेलिब्रेसन गर्दा उनले सो सहर र बुवालाई सम्झिने गरेका थिए।
युरो कपपछि यमालले बेहोरेको दोस्रो दबाब थियो– टिकटक स्टा एलेक्स पडिलासँगको सार्वजनिक सम्बन्ध र ब्रेकअप। खबरहरूमा जनाइएअनुसार पडिला र यमाल छुट्टिनै नसक्ने जोडी बनेका थिए। उनी यमालको परिवारसँगै कयौँ खेल हेर्न पनि पुगेकी थिइन्। तर, अचानक सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडिओमा उनी अर्कै केटोको साथमा देखिइन्। त्यसपछि उनीहरूको सम्बन्धबारे व्यापक अनुमान चल्यो र उनीहरूको हुर्किंदो रोमान्स पनि गत बर्खामा असमयमै टुंगिन पुग्यो।
यत्तिका दबाबका बीच पनि मैदानमा यमालको प्रदर्शनमा कुनै असर परेको छैन। यो सिजनमा उनले ४९ खेलमा १५ गोल गरेका छन् भने २४ सहायता उपलब्ध गराइसकेका छन्।
बुधबार राति युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनल खेलमा इन्टर मिलानसँग बार्सिलोनाले ३–३ गोलको बराबरी खेल्दा यमालको प्रदर्शन उच्चकोटिको रह्यो।
प्रशिक्षक हन्सी फ्लिक उनको प्रशंसा गर्न चुकेनन्, ‘ठूला खेलमा उनी देखिन्छन् र मलाई लाग्छ, उनी खुब मजा लिन्छन्।’

अझ यमालको विलक्षणताको कारण जितबाट वञ्चित भएका मिलानका प्रशिक्षक साइमन इन्जागीले त उनलाई आधा शताब्दीमा मात्र जन्मिने प्रतिभा भने।
‘उनी त्यस्ता प्रतिभा हुन्, जो प्रत्येक ५० वर्षमा जन्मिन्छ। उनको खेल मैले प्रत्यक्ष कहिल्यै हेरेको थिइनँ र आज उनले मलाई साँच्चै प्रभावित तुल्याए,’ खेलपछि इन्जागीले भने।
प्रतिस्पर्धी टोलीका प्रशिक्षकले गर्ने यस्तै प्रशंसाका कारण पनि उनको तुलना मेस्सीसँग स्वाभाविकजस्तो लाग्न सक्छ। त्यसमाथि मेस्सीले यमाल शिशु छँदै नुहाउँदै गरेको तस्बिरले बार्सिलोनामा विलक्षणताको पुस्तान्तरण भएको विश्वास गर्नेहरूलाई थप ढुक्क पार्ने गरेको छ।
आर्थिक हिसाबले पनि यमालले १७ वर्षकै उमेरमा ठूलो सफलता हात पारिसकेका छन्। उनको बिट इलेक्ट्रोनिक्स, पावरेड, ओप्पो, कोनामी र एडिडाससँग सम्झौता गरिसकेका छन्। फुटबलका सबैभन्दा परिचित अनुहार बनिसकेका छन् उनी।
तर, प्रगति सोझो हुँदैन। आउँदा वर्षहरूमा यमालको खेल अझ सुधार हुन पनि सक्छ र नहुन पनि सक्छ। तर, सत्य के हो भने उनी अहिले नै सर्वोत्कृष्ट फुटबलरमध्ये एक हुन्। एजेन्सी
Shares

प्रतिक्रिया