कारोबार


नीति र कार्यक्रममा सरकारले पहिलोपल्ट समेट्यो ‘जेन जी’, इन्टर्नसिपदेखि स्टार्टअपसम्मलाई प्राथमिकता

नीति र कार्यक्रममा सरकारले पहिलोपल्ट समेट्यो ‘जेन जी’, इन्टर्नसिपदेखि स्टार्टअपसम्मलाई प्राथमिकता

नेपालखबर
बैशाख १९, २०८२ शुक्रबार १८:२५, काठमाडौँ

सरकारले वर्षभरि अंगाल्ने नीति र कार्यक्रमका योजनामा प्रायः नयाँ पुस्ता समेटिँदैनन्।

तर आगामी आर्थिक वर्षका लागि शुक्रबार ल्याएको नीति तथा कार्यक्रममा भने सरकारले जेन जीलाई पनि ‘मेन्सन’ गरेको छ। अर्थात् सरकारले नवपुस्तालाई उनीहरुले नै रुचाएको शब्द प्रयोग गरेरै नयाँ योजनाहरु समेटेको हो। 

शुक्रबार संसद्मा राष्ट्रपति रामचन्द्र पौडेलले नवपुस्तालाई ‘जेन जी’ शब्दले प्रयोग गर्दै पहिलोपटक यो पुस्ताका ‘बिजनेस प्लान’लाई व्यवसायीकरण गर्ने उल्लेख गरेका हुन्। 

पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको सुरुवातमै ‘जेन जी’ पुस्तालाई विशेष प्राथमिकतामा राखी युवा केन्द्रित स्टार्टअप कार्यक्रम सुरु गरिने उल्लेख गरेका छन्। 

यसअघि नवप्रवर्तन तथा स्टार्टअपका नामले योजना ल्याए पनि यस पटक भने जेन जी पुस्ता भनेरै सरकारले ती पुस्तालाई स्टार्टअपमा जोड्ने योजना अगाडि सारेको हो।

उक्त योजनामार्फत अब जेन जीका बिजनेस प्लान र त्यसको इकोसिस्टम पनि निश्चित गर्दै यी पुस्तालाई व्यावसायिक क्षेत्रमा भित्र्याउने कार्ययोजना अगाडि सारिएको छ। 

पछिल्लो समय यो पुस्ता तीव्र गतिमा विदेश पलायन भइरहेका छन्। युवामैत्री नीतिको अभाव पूर्ति गर्दै सरकारले विदेश पलायन हुने युवालाई आकर्षण गर्न आगामी आवको नीति तथा कार्यक्रममा जेन जीलाई विशेष सम्बोधन गरेको हो। 

नीति तथा कार्यक्रममले इन्टर्नसिपलाई पनि विशेष प्राथमिकतामा राखेको छ। 

देशमा श्रम गर्ने संस्कृतिको विकास गर्दै श्रमलाई सम्मान गर्ने परिपाटी बसाल्नका लागि कार्यक्रममार्फत ‘जेन जी’लाई आर्कषण गर्नकै लागि इन्टर्नसिपको व्यवस्था गरिएको छ भने सरकारी सेवामा पनि इन्टर्नसिपको प्रयोग गर्ने योजना अगाडि सारिएको छ। 

‘सरकारी सेवामा पनि इन्टर्नलाई प्रयोग गरिनेछ’, यस्तै अर्को बुँदा लेखिएको छ, ‘इन्टर्नलाई पनि स्टार्टअपमा संलग्न गरिनेछ।’

सरकारले इन्टर्नसिपलाई परिचालन गर्न तथा जेन जी पुस्तालाई पढ्दा नै कमाउन सक्ने वातावरण सिर्जना गर्न घण्टामा आधारित ज्याला प्रणाली लागू गरिने उल्लेख गरेको छ। 

विशेष गरी स्नातक तह सकेका विधार्थी वा सोभन्दा माथिका विद्यार्थीहरुलाई अनुसन्धानमूलक संस्थामा आबद्ध गरिने र २० घण्टाको कामको न्यूनतम ज्याला निश्चित गरी ‘कमाउँदै पढ्दै’को नीति लागू गर्ने योजना नीति तथा कार्यक्रममा समावेश छ। 

यसअघि पढ्दै कमाउँदै योजना अगाडि सारिए पनि भुक्तानीमूलक इन्टर्नसिपलाई भने अगाडि सारिएको थिएन। आगामी आवमा भने सरकारले युवा पुस्तालाई आकर्षण गर्दै आन्तरिक रोजगारी सिर्जना गर्न पनि जेन जीहरुका लागि नयाँ योजना ल्याएको हो। 

योबाहेक युवाहरुलाई व्यवसायमा प्रोत्साहन गर्न इकमर्समार्फत व्यापारको विकास गर्ने, बौद्धिक सम्पत्ति संरक्षणका लागि आवश्यक पहल कदम चालने तथा आन्तरिक रोजगारी दशक मनाइने योजना अगाडि सारिएको छ।

शैक्षिक क्षेत्रमा पनि विश्व प्रविधिमा फड्को मारिरहेको अवस्थामा सरकारले जेन जीलाई सहजीकरण गर्दै विद्यालयस्तरमै प्रविधिमैत्री वातावरण सिर्जना गर्न इ–लर्निङ सामग्रीसहितको डिजिटल प्लेटफर्म विकास गर्ने योजना अगाडि सारेको छ भने भर्चुअल शिक्षण प्रणालीको विकास गरिने उल्लेख गरेको छ। 

योसँगै जेन जी पुस्तामा अत्यधिक क्रेज देखिएको खेलकुदमा सरकारीस्तरबाट स्पोर्ट स्कुल कार्यक्रम सुरु गर्ने योजना समेटेको छ।  

योबाहेक पछिल्लो समय जेन जी पुस्तामात्रै नभएर अधिकांश नेपालीहरु डिजिटल कारोबारमा अभ्यस्त हुने क्रम बढेको छ। सरकारले यसलाई सुरक्षित बनाउँदै क्यासलेस बैकिङ सेवा र डिजिटल बैंक समेत सञ्चालनमा ल्याउने नीति अगाडि सारेको छ। 

को हुन् जेन जी, किन परे प्राथमिकतामा? 
सन् १९९७ देखि २०१२ सम्म जन्म लिने मानिसहरुलाई हाल विश्वव्यापी रुपम ‘जेन जी’ समूहको रुपमा चिनाइन थालिएको छ।

यो पुस्ता विशेषगरी विश्वव्यापी रुपमा सचेत, डिजिटल ज्ञान भएको र सामाजिक रुपमा समेत सचेत पुस्ताका रुपमा चिनिन्छ।

विश्वको जनसंख्याको करिब २५ प्रतिशत हिस्सा ओगटेको यो पुस्तालाई अहिले विश्वव्यापी रुपमा जेन जी समूहको रुपमा चित्रित गरिँदै आएको छ। अहिले यो समूहमा १३ वर्षदेखि २८ वर्षसम्मका युवाहरु छन्। 

सरकारले विद्यालयस्तरबाट जेनजी पुस्तालाई व्यावसायिकतामा जोड्न विशेष प्राथमिकतामा राखेको देखिन्छ।

नीति तथा कार्यक्रमबाटै जेन जी शब्द प्रयोग गरेर सरकारले यी पुस्तालाई अपनत्वको अनुभव गराएको हो। विद्यालयस्तरमै पढ्दै कमाउँदै नीति लिने, विद्यार्थीलाई सरकारी संस्थाहरुमा न्यूनतम पारिश्रमिक दिएरै इन्टर्नसिपको अवसर दिने, बिजनेस आइडिया भएकाहरुलाई नवप्रवर्तन तथा स्टार्टअपमा जोड्ने तथा अनुसन्धानमा समेत जोड्ने योजना अगाडि सारेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad