ला लिगा लिडर बार्सिलोनाले आफ्नो अपराजित यात्रा २४ खेलसम्म कायम राख्न सफल भएको छ।
तर बार्सिलोनाले गएराति रेलिगेसन नजिक रहेको लेगानेसमाथिको कठिन जितमा भने आफ्नो उत्कृष्ट प्रदर्शन गर्न सकेन।
जर्ज साएन्जको आत्मघाती गोलमा घरेलु टोलीले खेलको ४८औँ मिनेटमा गोल खान पुग्यो।
राफिन्हाको क्रसलाई लेवान्डोस्कीबाट जोगाउन खोज्दा जर्जले आफ्नो पोस्टमा प्रहार गरे। हान्सी फ्लिकको टोली १–० को अग्रतापछि केही आक्रामक बनेको थियो।
यो जितले शीर्ष स्थानमा बार्सिलोनाको अग्रता ७ अंकमा पुर्याएको छ। तर एक खेल कम खेलेको रियल मड्रिडले आइतबार राति अलाभेससँग खेल्दै छ। रियलले यो खेल जितेमा बार्सिलोनाको अग्रता ४ अंकमा झर्नेछ।
बुधबार च्याम्पियन्स लिगको क्वार्टरफाइनलको पहिलो लेगमा बोरुसिया डर्टमुन्डलाई ४-० ले हराएको टोलीबाट बार्साले केवल दुई परिवर्तन गरेको थियो। तर यो टोलीले लगातार आठौं अवे जित हात पार्न सफल भए पनि प्रदर्शन भने सन्तुलित थिएन।
पहिलो हाफमा लेफ्टब्याक एलेजान्ड्रो बाल्डे चोटका कारण मैदान बाहिर निस्किएपछि उनीहरूलाई ठूलो धक्का लाग्यो।
पोल्यान्डका स्ट्राइकर लेवान्डोव्स्की बार्सिलोनामा आफ्नो १००औँ गोलको नजिक छन्।
म्यानेजर फ्लिकको टोली मंगलबार च्याम्पियन्स लिगको अन्तिम आठको दोस्रो लेगमा डर्टमुन्डसँग भिड्न जर्मनी जानेछ।
Shares

प्रतिक्रिया