विश्व स्क्वास वरीयतामा पाँचौँ स्थानमा रहिसकेका बोर्खा गोलान नेपाली खेलाडीलाई प्रशिक्षण दिने भएका छन्।
नेपाल स्क्वास एन्ड र्याकेट्स संघले सोमबार एक कार्यक्रमको आयोजना गर्दै स्पेनका लेभल थ्री प्रशिक्षक गोलानलाई स्वागत गरेको हो।
गोलानले एक हप्ता नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिनेछन्। सन् २०१४ मा गोलान विश्व स्क्वास वरीयतामा पाँचौँ स्थानमा थिए।
उनले पीएसए विश्व टुरमा ३३ उपाधि जितेका थिए। यसैगरी उनी १७ पटकको स्पेनका राष्ट्रिय च्याम्पियन पनि हुन्।
दुई पटक युरोपेली इन्डिभजुयल च्याम्पियन भइसकेका गोलानले स्पेनको राष्ट्रिय टिमलाई विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगतामा नेतृत्व पनि गरिसकेका छन्।
सन् २०२३ मा गोलानले खेलाडी जीवनबाट सन्यास लिएका थिए। त्यसपछि उनले गोलान स्क्वास एकेडेमीको स्थापना गरेका छन्। जुन एकेडेमीले युवा खेलाडी उत्पादन र सहयोग गर्ने गर्दछ। सोही एकेडेमीमा नेपालका स्क्वास खेलाडी अमृत थापा मगर पनि छन्।
४२ वर्षीय प्रशिक्षक गोलानले नेपालको बारेमा धेरै सुनेको बताउँदै आफूले नेपाली स्क्वास खेलाडीलाई थप उत्प्रेरित गर्ने लक्ष्यसहित नेपालका आएको उनको भनाइ छ।
'पछिल्ला दुई–तीन वर्षदेखि प्रशिक्षकको जिम्मेवारीमा छु, नेपालमा सिकाउने मात्र होइन, मैले पनि धेरै सिक्ने अवसर पाउनेछु' उनले भने।
नेपाल स्क्वास एन्ड र्याकेट्स संघका अध्यक्ष ध्रुवबहादुर गुरुङले गोलानको प्रशिक्षणले नेपाली स्क्वास खेलाडीको स्तर अझ माथि उकासिने उनको भनाइ छ।
उनले गोलान स्क्वास फाउन्डेसनबाट युरोपका स्तरीय खेलाडीसँग अनुभव साटासाट गर्न दिन नेपाली खेलाडीहरुलाई स्क्वास टुरको व्यवस्था गर्न पनि अनुरोध गरे।
ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जनले गोलानको आगमन नेपालका स्क्वास खेलाडीहरुका लागि आफ्नो खेल स्तर बढाउने ठूलो अवसर भएको बताए।
उनले हेटौँडामा स्क्वास कोर्ट बनाउने योजना सामेल प्रपोजको कार्य अगाडि बढेको जानकारी दिए।
यसैगरी नेपाल स्क्वास एन्ड र्याकेट्स संघका निवर्तमान अध्यक्ष किशोर महर्जनले गोलानबाट खेलाडीहरू मात्र होईन नेपाली प्रशिक्षकहरूले पनि धेरै कुरा सिक्ने अपेक्षा गरे।
Shares

प्रतिक्रिया