सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय र रक्षा समाचारदाताको टोलीबीच आज भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा सेनाको टोली विजयी भएको छ।
सेनाले रक्षा समाचारदाताको टोलीलाई ९–८ गोलअन्तरले पराजित गरेको हो।
जनसम्पर्क तथा सूचना निर्देशनालयको २३ औँ स्थापना दिवसका अवसरमा सैनिक मुख्यालय जङ्गीअड्डामा उक्त प्रतियोगिता आयोजना गरिएको हो।
निर्धारित समयमा दुवै टोलीले ४–४ गोलको बराबरी खेल खेलेपछि पेनाल्टीमार्फत खेलको निर्णय गरिएको थियो। पेनाल्टीमा सेनाको टोलीले पाँच र रक्षा समाचारदाताको टोलीले चार गोल गरेको थियो। यसअघि रक्षा समाचारदाताको तर्फबाट शिशिर बस्नेत एक्लैले चार गोल गरेका थिए।
यसअघि सैनिक तालिम महानिर्देशक ध्रुवप्रकाश शाहले रेफ्रिलाई फुटबल हस्तान्तरण गरी खेल शुभारम्भ गरेका थिए। प्रतियोगितामा सेनाका तर्फबाट प्रवक्ता गौरवकुमार केसी र समाचारदाताका तर्फबाट उजिर कार्कीले कप्तानको जिम्मेवारी निभाएका थिए।
विगत चार वर्षदेखि निर्देशनालयको स्थापना दिवसका अवसरमा मैत्रीपूर्ण फुटबल आयोजना गरिँदै आएको छ। रासस
Shares

प्रतिक्रिया