खेल


आजको जितमा खुसी छु, फाइनलका लागि नयाँ संरचना बनाउँछु : मुख्य प्रशिक्षक तामाङ

आजको जितमा खुसी छु, फाइनलका लागि नयाँ संरचना बनाउँछु : मुख्य प्रशिक्षक तामाङ

नेपालखबर
फागुन ८, २०८१ बिहिबार २०:४५, काठमाडौँ

नेपाली महिला टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले आजको खेलबाट आफू सन्तुष्ट भएको प्रतिक्रिया दिएका छन्। दशरथ रंगशालामा जारी फोर नेसन्स अन्तराष्ट्रिय च्याम्पियनसिपमा लेबनानविरुद्ध नेपालले १-० ले जित निकालेपछिको पत्रकार सम्मेलनमा तामाङले यस्तो प्रतिक्रिया दिएका हुन्।  

'आज खुसी नै छु। जित त जित हो। हामीले लेबनानलाई हामीभन्दा र्‍याङ्किङमा तलमाथि भन्नुभन्दा पनि उनीहरूको लगानी र हाम्रो लगानी हेर्नुपर्ने हुन्छ,' उनले भने, 'चान्स धेरै बनाएको हो हामीले तर गोल निस्किएन।  आज लेबनानले हामीलाई गाह्रो चाहिँ बनाएको हो।' 

उनले आज खेलाडीहरूले योजनाअनुसार नै खेलेको बताए। 'प्लानिङमा ठिकै थियो। पोजिसनमै काम गर्नुपर्ने थियो त्यो भयो। हामीले जित्नै पर्ने थियो। ड्र हुँदा अर्को खेलमा उनीहरूले अर्को टिमलाई धेरै गोलले हराउँदा हामीलाई अप्ठ्यारो पर्नसक्थ्यो' उनले थपे। 

तामाङले फाइनलका लागि म्यानमारको संरचना बुझिसकेको र सोहीअनुसारको रणनीति बनाउन आफू लागेको पनि बताए। 

'अब दुई दिनको रेस्ट छ। हामीले म्यानमारको संरचना बुझिसकेका छौँ। म पनि कसरी खेल्दा राम्रो हुन्छ भनेर नयाँ संरचना बनाउँछु,' उनले भने, 'प्रेसर नदिई खेललाई राम्रो बनाउन खेलाडीलाई तयार पार्छु।'

के भन्छिन् साम्बा? 
  
आजको खेलमा निर्णायक गोल गरेको नेपाली स्टार फरवार्ड सावित्रा भण्डारी 'साम्बा'ले पनि खेल जित्दा खुसी लागेको प्रतिक्रिया दिइन्। उनले घरेलु मैदान, घरेलु समर्थकको माझ लेबनानसँग खेल्दा प्रेसर भएको बताइन्। 

'खेलमा प्रेसर थियो। होम ग्राउन्ड, होम क्राउड थियो,' उनले भनिन्, 'एक गोलले जित्दा पनि खुसी छौँ। एक गोलले लिड गर्दा जति बेला जे पनि हुन सक्थ्यो तर समग्रमा हामीले जित्यौँ खुसी छौँ।'

अर्की फरवार्ड रेखा पौडेलसँग तालमेल नमिलेको हो? भन्ने पत्रकारको प्रश्नमा उनले थपिन्, 'हामी फरक-फरक ठाउँमा खेलिरहेका छौँ। त्यसैले अझै कम्बिनेसन बनिसकेको छैन। हामी दुई जनाबीच जुन तालमेल हो त्यो मिलाउने कोशिसमा गर्नेछौँ। हामी अर्को खेलमा सुधार्ने छौँ।' 

लेबनानलाई हराउँदै नेपाल एक खेलअघि नै फाइनलमा, उपाधि भिडन्त म्यानमारसँग

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad