सवारी साधनको सम्भावित दुर्घटना रोक्न अनामनगरस्थित धोबीखोलास्थित पुलछेउमा अस्थायी समाधान गरिएको छ।
गत सोमबार कार दुर्घटना भएपछि सोही स्थानमा बिहीबार सिंहदरबार प्रहरी वृत्तले अस्थायी समाधान गरेको हो।
सिंहदरबार प्रहरी वृत्तका प्रहरी वरिष्ठ उपरीक्षक गंगाप्रसाद पौडेलले दीर्घकालीन बार नबनेसम्मका लागि प्रहरीसँग भएको सामान्य स्रोतले रिफ्लेक्टर र डोरीको व्यवस्था गरेको बताए।
उनले स्थायी समाधानका लागि बार निर्माणको प्रक्रियामा रहेको बताए। स्थानीयको सहयोग लिएर निर्माण गरिएको अस्थायी समाधानले तत्कालको सम्भावित दुर्घटना रोकिने उनको भनाइ छ।
उनले भने, ‘हालसालै पनि यहाँ एउटा कार दुर्घटना भयो तर मानवीय क्षति हुन पाएन। ठूलो दुर्घटनाबाट हामी जोगियौँ। तर सडकको पेटी हेर्दाखेरि चाहिँ ड्राइभरसँग पनि हामीले कुरा गर्यौँ, ड्राइभर झुक्किएको भन्ने उहाँहरुले कुरा गर्नुभयो। पुल यहाँ छ पुलको ट्रनिङ त्यहीँ होला भनेर झुक्किएको भन्नुभयो। बारम्बार यस्ता घटना हुनसक्छन् भन्ने हिसाबमा हामीले समन्वय गर्यौँ। यसको दीर्घकालीन बार लगाउने कुरा टेण्डरको प्रोसेसमा भएको र बन्नका लागि केही समय लाग्ने भएकाले तत्काल सम्भावित दुर्घटना रोक्नका लागि अहिले यो रिफ्लेक्टर र डोरी राखेपछि दीर्घकालीन बार नबनेसम्म यसले केही न केही त रोक्ला।’
गत सोमबार उक्त स्थानबाट कार दुर्घटना भएको थियो। मानवीय क्षति नभएपनि व्यस्त सडकमा भौतिक संरचनाको अभावमा चालक झुक्किएर दुर्घटना हुनुलाई गम्भीर रुपमा लिइएको छ।
भौतिक निर्माणमा लापरबाही भएको भन्दै यस्ता सानातिना विकास निर्माणका काममा गम्भीर बन्न सरकारलाई स्थानीयहरुले आग्रह गरेका छन्।
Shares

प्रतिक्रिया