कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानका कर्मचारी जय बहादुर तामाङ ‘सेते दाइ’को उपचारका लागि नेपाली क्रिकेट समर्थक समाज (एनसीएसएस)ले आइतबार सहयोग रकम हस्तान्तरण गरेको छ।
मिर्गौला समस्याले वीर अस्पतालमा उपचार गरिरहेका सेते दाइको उपचारका लागि समाजले संकलन गरेको ‘एनसीएसएस सेते दाइ सहयोग अभियान’मा सङकलित ५० हजार रुपैयाँ आज हस्तान्तरण गरेको हो।
एनसीएसएसले आज वीर अस्पतालमा जय बहादुर तामाङ्गकी श्रीमती निरमाया तामाङ्गलाई सहयाेग रकम हस्तान्तरण गरेको हो। मैदान कर्मचारी तामाङ पछिल्लो १२ दिनदेखि वीर अस्पतालमा किड्नीको उपचार गराइरहेका छन्।
नेपाली क्रिकेट समर्थकहरुको संस्था एनसीएसएसले आज चौथो दिन जारी अभियानमा ८७ हजार २ सय ८० रुपैयाँ संकलन गरेको छ।
संकलन भएको मध्ये उठिसकेको ५० हजार रुपैयाँ आज हस्तान्तरण गरेको हो भने ६ हजार ३ सय ५० रुपैयाँ बैक खातामा पठाएको छ।
संकलनका क्रममा घोषित ३० हजार ९ सय ३० रुपैयाँ उठ्न बाँकी रहेको एनसीएसएसले जनाएको छ। दोश्रो चरणको रकम एनसीएसएसले आगामी शुक्रबार हस्तान्तरण गर्ने जानकारी दिएको छ।
सेते दाइलाई सहयोग गर्न नेपाली क्रिकेट समर्थक समाजले ग्लोबल आइएमई बैंकको खाता नम्बर ०८०१०१०००१५८७ र ई–सेवा मार्फत सहयोग गर्न ९४३३५७५५९ र ९८५११४८५२ मा सहयोग गर्न आग्रह गरेको छ।
यसैबीच नेपाल क्रिकेट संघ क्यानका कोषाध्यक्ष रोशन सिंहले पनि ११ हजार रुपैयाँ सहयोग गरेका छन्।

प्रतिक्रिया