नेपालमा पहिलो पटक एसियन सुटिङ बल च्याम्पियनसिप प्रतियोगिता आयोजना हुने भएको छ। नेपाल सुटिङ बल सङ्घले शुक्रवार पत्रकार सम्मेलन गरी माघ १७ देखि १९ गतेसम्म इटहरीमा प्रतियोगिता गर्न लागेको हो।
सन् २०२४ मा सुटिङ बल वर्ल्ड कपमा नेपालको तर्फबाट महिला तथा पुरुष टोलीले उत्कृष्ट प्रदर्शन गर्दै तेस्रो स्थान हासिल गरेको थियो।
सम्मान स्वरूप यो प्रतियोगिता नेपाललाई आयोजना गर्न लागिएको एसियन सुटिङ बल सङ्घका अध्यक्ष केशवकुमार विष्टले बताए। प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश र युएईका महिला तथा पुरुष टोलीको सहभागिता रहनेछ।
प्रतियोगितामा एसियाका ११ देशका खेलाडी सहभागी हुने बताइएको छ। विभिन्न देशबाट प्रतियोगिहरु आउने भनिए पनि पूर्वी एसियामा बढेको तनावका कारण ५ देशका खेलाडी मात्र सहभागी हुने निश्चित भएको विष्टले बताए।
आयोजक देश नेपालले महिला र पुरुष दुवै समूहमा ‘ए’ र ‘बी’ गरी चार टोलीलाई प्रतिनिधित्व गराउने राखेपका पूर्व सदस्यसचिव समेत रहेका विष्टले जानकारी दिए।
च्याम्पियनसिपको उद्घाटन माघ १८ गते पूर्व प्रधानमन्त्री एवम् एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले गर्नेछन्।
पाँच देशका झन्डै दुई सय खेलाडीहरूको सहभागिता रहने च्याम्पियनसिपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरू, ओलम्पियनहरू र अन्य विशिष्ट पाहुनाहरूको उपस्थिति रहने एसियन सुटिङ बल सङ्घका महासचिव जिचेन्द्र तोमरले बताए।
आफ्नो देश भारतमा लोकप्रिय रहेको सुटिङ बल खेल नेपालमा पनि बिस्तार हुँदै गएको र यहाँका खेलाडीहरूको अब्बल प्रदर्शनले गतबर्ष सुटिङ बल वर्ल्ड कपमा नेपालले तेस्रो स्थान हासिल गरेको उनले बताए। च्याम्पियनसिप सम्पन्न गर्न ३५ लाख बढी खर्च हुने अनुमान गरिएको विष्टले बताए।
समापन तथा पुरस्कार वितरण भने माघ १९ गते कोसी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीको प्रमुख आतिथ्ययतामा सम्पन्न हुने अध्यक्ष विष्टले बताए।
Shares

प्रतिक्रिया