आवश्यक पूर्वाधारको अभावका कारण कर्णाली प्रदेशमा तय दसौँ राष्ट्रिय खेलकुदका सबै खेल कर्णाली प्रदेशमा मात्र हुन नसक्ने बताएका छन्। केही खेल नेपालगन्ज र काठमाडौँमा हुने उनको भनाइ छ।
दसौँ राष्ट्रिय खेलकुदको तयारीका लागि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा सचिवालय उद्घाटन गर्ने कार्यक्रमममा मन्त्री चौधरीले आवश्यक पूर्वाधार अभावले दसौँ राष्ट्रिय खेलकुदका केही प्रतिस्पर्धा नेपालगन्ज र काठमाडौँमा गरिने बताएका हुन्।
यद्यपि, अधिकांश खेल कर्णालीमै हुने उनले स्पष्ट पारे। कर्णाली प्रदेश दुर्गम रहेकाले त्यहाँका बाटो, स्वास्थ्य र होटल लगायतका अवस्थाबारे पनि निरीक्षण भइरहेको उनको भनाइ थियो। आवश्यक होटल नभएकाले होस्टलमा राख्ने गरी व्यवस्थापन गर्न सकिने विकल्प पनि उनले सुझाए।
आगामी माघ ३ गते राखेप बोर्डको बैठक बस्ने र त्यसले थप छलफल गर्ने उनले बताए।
दसौँ खेलकुदका लागि आवश्यक पर्ने आर्थिक निर्देशिका अर्थ मन्त्रालय पुगेको र छिटै कानुनमा पनि पुग्ने उनले दाबी गरे। यो राष्ट्रिय खेलकुद सोचेभन्दा राम्रो र व्यवस्थित तरिकाले सञ्चालन गर्ने उनको विश्वास थियो।
यसअघि ३६ खेल हुने भनिए पनि अबको बोर्ड बैठकले मात्र यकिन संख्या निर्धारण हुने उनको भनाइ थियो।
गत मंसिर २१ गते सम्पन्न राखेपको बोर्ड बैठकले दसौँ राष्ट्रिय खेलकुद आगामी चैत २३ गतेदेखि ३० गतेसम्म आयोजना हुने तय गरेको भनिएको थियो। यद्यपि उक्त निर्णय बोर्ड बैठकले नभई मन्त्री चौधरीले कार्यकक्षमा सुनाएको आरोप लागेको थियो। यसबारे मन्त्री चौधरीलाई प्रश्न गर्दा यो विषय पुरानो भइसकेको र माइन्युट पनि क्लोज भएको प्रतिक्रिया दिए।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले देश संघीय संरचना गएपछि राष्ट्रिय खेलकुद आयोजना पनि संघीय संरचनामा हुँदै गएको उल्लेख गरे। यसपल्ट प्रदेशका खेलकुद निकायलाई अझै धेरै जिम्मेवारी दिने उनको भनाइ थियो।
उनका अनुसार, प्रदेशको पहिचान झल्किने किसिमले खेलाडीले लगाउने पोसाकसँगै यातायात व्यवस्थापन गर्ने जिम्मेवारी दिइनेछ। एनआरएनएको टोलीको सहभागिता सुनिश्चितताबारे टुङ्गो नलागेको पनि उनले बताए।
यसअघि एनआरएनएको सहभागिता हुँदा केही विवाद सिर्जना भएकाले यसपल्ट समस्या उत्पन्न नहुने तवरले कार्यविधि तयार पारिने उनको भनाइ थियो।
कर्णालीमा २४ वटा खेल आयोजना हुने र अन्य १२ खेलबारे थप छलफल हुने उनले बताए।
२०७९ सालमा नवौँ राष्ट्रिय खेलकुद समापानकै दिन दसौँ राष्ट्रिय खेलकुद आयोजनाको मिति निर्धारण गरिएको थियो। गत मंसिर २ गतेदेखि दसौँ राष्ट्रिय खेलकुद हुने निर्धारण गरिए पनि मन्त्री चौधरीले चासो नदिँदा समयमा खेल आयोजना हुन सकेको छैन।
Shares

प्रतिक्रिया