युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले राष्ट्रिय गौरवका आयोजनाहरु निर्माणका लागि सरकारसँग प्रविधियुक्त जनशक्तिको अभाव रहेको बताएका छन्।
बुधबारको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। मन्त्री चौधरीले आवश्यक इन्जियिरहरू नहुँदा पनि गौरवका योजनाहरु अघि बढ्न नसकेको उल्लेख गरे। उनले पछिल्लो समय क्रिकेटमा बढेको लोकप्रियताले खेलेर पनि भविष्य बनाउन सकिन्छ भन्ने सन्देश प्रवाहित भएको बताए।
मन्त्री चौधरीले खेलकुदलाई अब आर्थिक आर्जन र खेल पर्यटनसँग जोड्नुपर्ने बताए। सरकारले अहिले पूर्वाधार अघि बढाउने प्रयास गरिरहेको र स्रोत सुनिश्चितताका लागि अर्थ मन्त्रालयमा पठाइएको जानकारी दिए।
मन्त्री चौधरीले खेलकुद मन्त्रालयमा जम्मा ३ अर्ब ५० करोड रुपैयाँ बजेट रहेको र यो पर्याप्त नभएको बताए। मन्त्रालयलाई प्राप्त बजेटबाट एक अर्ब ३२ करोड रुपैयाँ पुँजीगत खर्च रहेको जानकारी दिए।
त्यसमा ५० करोड रुपैयाँ एउटै मूलपानीमा र ६० करोड रुपैयाँ १० औं खेलकुदका लागि छुट्याएको बताए। बाँकी २० करोड रुपैयाँ कीर्तिपुर रंगशालाका लागि छुट्याइएको पनि उनले स्पष्ट पारे। त्यसमध्येको ठूलो योजना कीर्तिपुर क्रिकेट मैदान स्रोत सुनिश्चितता नहुँदा अर्थ मन्त्रालयमा एक हप्तादेखि अड्किएर बसेको जानकारी दिए।
मन्त्री चौधरीले काठमाडौंभित्र थप एउटा फुटबल रंगशाला, क्रिकेट रंगशाला र भलिबल कभर्ड हल आवश्यक रहेको बताए। उनले फुटबल मैदानका लागि काठमाडौंभित्र जग्गा हेर्न थालेको दुई महिना भइसक्दा पनि पाउन नसकेको उल्लेख गरे।
उनले भने, ‘हामीले अहिले काठमाडौंभित्रमा फुटबल रंगशालाको लागि २ महिनादेखि जग्गा खोजिरहेका छौँ । एन्फा, विश्व फिफाले हामी सहयोग गर्न तयार छौँ भनिरहेको छ। हामी भौतिक जग्गा दिन सकिरहेका छैनौँ। खोज्दा खोज्दा हामी थाकिसकेका छौँ।’
उनले खेलकुदका लागि नीतिहरू बाधक बन्दा मित्र राष्ट्रले सहयोग गर्छु भनेको रकम पनि ल्याउन नसकिरहेको स्पष्ट पारे।
मन्त्री चौधरीले सबै रंगशालाहरू व्यवस्थित तरिकाले सञ्चालन गर्नका लागि २५ अर्ब रुपैयाँ आगामी वर्षको बजेटमा आवश्यक पर्ने बताए। आर्थिक र पर्यटकीय दृष्टिकोणबाट खेलकुद मन्त्रालयलाई अघि बढाउनुपर्ने उनको धारणा छ।
Shares

प्रतिक्रिया