मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले जनकपुरधाममा रामजानकी अन्तर्राष्ट्रिय बहुउद्देश्यीय रंगशाला बनाउन विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार अवस्थामा रहेको बताएका छन्।
आइतबार जनकपुरधाममा सुरु भएको ‘जय ट्रफी मेन्स एलाइट कप’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सो जानकारी दिएका हुन्।
पुस २२ गते राष्ट्रिय खेलकुद परिषद् र गुठी संस्थानसँग मधेस प्रदेश सरकारले मैदानका लागि सम्झौता गर्ने र पास हुनेबित्तिकै मन्त्रिपरिषदबाट निर्णय गरेर फाइल काठमाडौँ पठाउने तयारी भइरहेको पनि उनले बताए।
करिब ७ वर्षअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधामको विकासका लागि दिने भनेको १ अर्ब रुपैयाँ अहिलेसम्म खर्च नभएकोले सो रकम रंगशाला निर्माणमा लगाउने र थप १ अर्ब रुपैयाँ मधेस प्रदेश सरकारबाट लगानी गर्ने उनको भनाइ छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको रकम खर्च गर्न केन्द्र सरकारले भारतीय दूतावासमा पठाउने र बोलपत्र प्रक्रिया अघि बढ्ने भएकाले समय लागेको उनले बताए।
रंगशालाका लागि साढे २ देखि ३ अर्ब रूपैयाँसम्मको ठेक्का लगाइने उनको भनाइ थियो।
Shares

प्रतिक्रिया