खेल


भुटानसँगको युथ मैत्रीपूर्ण फुटबलमा नेपालको खराब प्रदर्शन

भुटानसँगको युथ मैत्रीपूर्ण फुटबलमा नेपालको खराब प्रदर्शन

नेपालखबर
पुस ७, २०८१ आइतबार २०:३५, काठमाडौँ

नेपालले भुटानका दुई फरक उमेर समूहका महिला टोलीसँगको मैत्रीपूर्ण फुटबलमा खराब प्रदर्शन गरेको छ। 

घरेलु मैदानमा सम्पन्न भुटानको यु–१६ र यु–१९ महिला टोलीसँग नेपालले समान एक मैत्रीपूर्ण खेल खेले पनि जित निकाल्न भने सकेन। एक समय भुटानमाथि गोल वर्षा नै गर्ने नेपालको प्रदर्शन बिर्सनलायक नै रह्यो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आईतवार नेपाली यु–१९ महिला टोली भुटानसँग १–१ को बराबरीमा खुम्चियो। नेपालले बराबरीको नतिजा सामना गरे पनि भुटानी टोलीले सुन्दर फुटबल खेलेको थियो।

सटिक र सुन्दर पाससँगै फिटनेसमा पनि भुटानी टोली अब्बल रह्यो। यसैको मद्दतमा भुटानले पुनरागमन गर्दै बराबरीको नतिजा ल्याएको हो।

यससँगै नेपालले भुटानसँगको दुई मैत्रीपूर्ण खेलमा एक पनि निकाल्न सकेन। गत शुक्रवार नेपालको यु–१६ महिला टोलीले ५–१ को लज्जास्पद हार व्यहोरेको थियो। यु–१९ नेपाली टोलीले जित निकाल्ने अपेक्षा गरे पनि हुन सकेन। आईतवार शुरुवाती अग्रता जोगाउन नसक्दा नेपाली यु–१९ टोली भुटानसँग रोकिएको हो। पाहुना टोलीले नेपालमाथि राम्रो फुटबल प्रदर्शन गरेको थियो। एकेडेमीका खेलाडी र लामो समयदेखि तयारी गरेको भुटानी टोलीको प्रदर्शनबाट स्पष्ट देखिन्थ्यो। नेपाली टोलीको प्रदर्शन भने सुखद् रहेन। नेपाली खेलाडी शारीरिक रूपमा फिट देखिएन।

यद्यपि पहिलो हाफ गोलरहित बराबरी नै भयो। तर दोस्रो हाफ सुरू भएको दोस्रो मिनेटमै नेपालले अग्रता लियो। सुशीला केसीको गोलमार्फत नेपालले शुरूवाती अग्रता लिएको हो। भुटानका डिफेन्डरको खराब क्लियरेन्सको फाइदा उठाउँदै सुशीलाले डिबक्स बाहिरबाट वान टचमा टप कर्नरमा गोल गरेकी हुन्। तर उक्त अग्रता नेपालले अन्तिमसम्म कायम राख्न सकेन। निर्धारण समय सकिन ९ मिनेट बाँकी रहँदा फुन्टोस छोडेनले गोल गर्दै भुटानलाई खेलमा फर्काइन्।

उनले प्रिया घलेको क्रसमा उनले गोल गरेकी थिइन्। त्यसपछि नेपाली टोलीले गोल फर्काउन सकेन र १–१ को बराबरीमा नै खेल टुंगियो। भुटानकी प्रशिक्षक टंकमाया घलेले लामो तयारी गरेअनुरूप नतिजा प्राप्त भएको उल्लेख गर्दै छिटै महिला साफ जित्ने विश्वास व्यक्त गरिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad