खेल


एनपीएल फाइनल खेल्ने कप्तानको पाटन दरबार स्क्वायरमा ट्रफीसँग फोटोसुट

एनपीएल फाइनल खेल्ने कप्तानको पाटन दरबार स्क्वायरमा ट्रफीसँग फोटोसुट

नेपालखबर
पुस ५, २०८१ शुक्रबार २०:५८, काठमाडौँ

नेपाल प्रिमियर लिगको फाइनलमा पुगेका दुई टोलीका कप्तानले पाटन दरबार स्क्वायरमा ट्रफीसँग फोटोसुट गराएका छन्। शुक्रबार दिउँसो सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी र जनकपुर बोल्ट्सका कप्तान आसिफ शेखले फोटो सुट गराएका हुन्।

दुवै कप्तान आ आफ्नो टिमका मार्की खेलाडी पनि हुन्। जनकपुर बोल्ट्सको कप्तानी लिग चरणमा अनिल साहले गरे पनि अन्तिम खेलमा घाइते भएपछि आसिफलाई नै कप्तानीको जिम्मा दिइएको हो।

दुई खेल गुमाइसकेका अनिलले फाइनल खेल पनि गुमाउने भएपछि आसिफकै कप्तानीमा जनकपुर सुदूरपश्चिमविरुद्ध उपाधि भिडन्तमा उत्रिने पक्का भएको हो।

उपाधि विजेताले पाउने ट्रफीसँगै राखेर दुई कप्तानको फोटो खिचाइएको छ। फाइनल खेलअघिको पत्रकार सम्मेलन पहिले नै दुई कप्तानले पाटन दरबार स्क्वायरमा फोटोसुट गराएको नेपाल क्रिकेट संघ क्यानका प्रवक्ता छुम्बि लामाले बताए।

फोटोसुटपछि त्रिवि क्रिकेट मैदानमा पत्रकार सम्मेलन भएको थियो।

उपाधिका लागि भिड्नुअघि शुक्रबार आयोजित ‘प्रिम्याच कन्फ्रेन्स’मा दुवै टिमका कप्तानले आफूहरुले जितबारे धेरै नसोचेको र भोलि अहिलेसम्मकै राम्रो क्रिकेट खेल्ने बताएका छन्।

सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले आफूहरुले जनकपुरलाई दुई पटक पराजित गरेको भए पनि कमजोर नठानेको बताए। उनले भोलिको खेलमा पनि लिग चरणको जस्तै रणनीति अपनाउने बताएका छन्।

‘भोलिको लागि तयारी राम्रो भइरहेको छ,’ ऐरीले भने, ‘पहिले हरायौँ भन्दैमा हामीले सजिलो रुपमा लिएका छैनौं। टिम एकदमै टफ छ। जसरी लिगहरुको म्याच खेलीरहेका थियौं, फाइनलमा पनि त्यसरी नै खेल्ने छौं।’

उनले थपे, ‘जित, हार आफ्नो छ। आफ्नो शतप्रतिशत दिएर खेल्छौँ।’

त्यस्तै जनकपुर बोल्ट्सका कप्तान आसिफ शेखले पनि नतिजाबारे धेरै नसोचेको र मैदानमा राम्रो खेल्ने बताए। ‘भोलि एउटा राम्रो क्रिकेट खेल्छौँ,’ शेखले भने, ‘हामीसँग जेजति छ, त्यो मैदानमा दिन्छौं। नतिजाको बारेमा त्यस्तो केही सोचेका छैनौँ।’

नतिजा जे आए पनि मैदानबाट निस्कँदा आफूले बेष्ट दिएको भनेर आफैलाई लाग्नुपर्ने उनले बताए। शेखले भने, ‘मैदानबाट निस्कँदा यति मात्रै लाग्नु पर्यो कि आफूसँग जे जति थियो, त्यो दियौँ।’

पहिलो क्वालिफायरमा सुदूरपश्चिमले जनकपुरलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। जनकपुर दोस्रो क्वालिफायरमा कर्णाली याक्सलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको हो।

तस्बिरहरू : एनपीएल

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad