नेपाल प्रिमियर लिग (एनपीएल) मा आज (बुधबार) प्लेअफका खेल सुरु हुँदै छन्।
एनपीएलको लिग चरणको खेलबाट शीर्ष चारमा रहने टोलीले प्लेअफमा स्थान बनाएका हुन्।
अंक तालिकाको शीर्ष र दोस्रो स्थानमा रहने टोलीले पहिलो क्वालिफायर्स खेल्नेछन्।
तेस्रो र चौथो स्थानमा रहने टोलीले एलिमिनेटर खेल्नेछन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार बिहान ९ बजे सुरु हुने एलिमिनेटर खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्नेछन्।
यो खेलको विजेताले दोस्रो क्वालिफायर्स खेल्नेछ। पराजित टोली भने प्लेअफबाटै बाहिरिनेछ।
दिउँसो १ बजे सुरु हुने पहिलो क्वालिफायर्समा शीर्ष स्थानको सुदूरपश्चिम रोयल्स र दोस्रो स्थानको जनकपुर बोल्ट्स भिड्दै छन्।
यसमा विजयी टोली सिधै फाइनलमा पुग्नेछ भने हार्ने टिमले फाइनल पुग्नका लागि अर्को एक मौका पाउनेछ।
दोस्रो क्वालिफायर्समा पहिलो क्वालिफायर्समा पराजित टोली र एलिमिनेटरको विजेता टोली भिड्नेछन्।
बिहीबार हुने यस खेलमा विजयी फाइनलमा प्रवेश गर्नेछ।
फाइनल खेल शनिबार हुनेछ।
पहिलो संस्करणको एनपीएल विजेताले एक करोड १० लाख रुपैयाँ पाउने भएको छ।
यो पुरस्कार रकम नेपाली खेलकुदमा अहिलेसम्मको सर्वाधिक पुरस्कार राशि हो।
एनपीएलको उपविजेताले ५१ लाख रुपैयाँ प्राप्त गर्नेछ। तेस्रो स्थानमा रहने टोलीले २५ लाख र चौथो स्थानमा रहने टोलीले १५ लाख रुपैयाँ पाउने नेपाल क्रिक्रेट संघ (क्यान) ले जनाएको छ।
Shares

प्रतिक्रिया