शक–यान मुवाथाई क्लब पोखराको आयोजना तथा प्रदेश खेलकुद परिषद् गण्डकीको प्रवर्द्धनमा यही पुस १० गतेदेखि १२ गतेसम्म थाई–बक्सिङ प्रतियोगिता गरिने भएको छ।
व्यावसायिक खेलकुदमा विश्वकै आकर्षक मध्येको एक ‘कन्टेन्डर सिरिज–२’ थाई–बक्सिङ पोखरामा गर्न लागिएको हो। खेलकुदमार्फत व्यावसायिक खेलकुदको विकाससँगै खेल पर्यटन प्रवर्द्धनका लागि प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। प्रतियोगिता लेकसाइडस्थित बाराही घाट खेल मैदानमा हुने तयारी समितिका संयोजक एवं प्रदेश खेलकुद परिषद्का सदस्य खगेन्द्र क्षेत्रीले जानकारी दिए।
उनका अनुसार प्रतियोगितामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी गरी पाँच वटा प्रदेशका महिला र पुरुष गरी ८४ जना ‘फाइटर’हरूको सहभागिता रहनेछ। प्रतियोगितामा जुनियररसिनियर (एमेच्योररप्रोफेशनल) तर्फ कूल ४२ फाइट तय गरिएको छ।
प्रतियोगिताको पुरुष ‘प्रोफेशनल’तर्फ मुख्य फाइटको विजेताले नगद ५० हजार र उपविजेताले नगद रु २० हजार तथा महिलातर्फको विजेताले नगद रु ३० हजार र उपविजेताले नगद १५ हजार प्राप्त गर्ने जनाइएको छ।
त्यसैगरी अन्य फाइटमा महिला र पुरुषतर्फ ८र८ विजेताले नगद रु १५ हजार र उपविजेताले नगद रु १० हजारका साथमा मेडल तथा प्रमाणपत्र पाउनेछन्। पुरुषतर्फ कोमेन इभेन्टका विजेताले नगद रु २५ र उपविजेताले रु १५ हजार प्राप्त गर्ने आयोजक शकयान मुआथाई क्लबले जनाएको छ।
पोखराभन्दा बाहिरबाट आउने खेलाडीलाई विशेष आकर्षक उपहार प्रदानसँगै आवासको सुविधा उपलब्ध गराइने र तीन जना उदीयमान खेलाडीहरूलाई नगदसहित सम्मान गरिने जनाइएको छ।
नेपाल राष्ट्रिय मुवाँथाई संघ र गण्डकी प्रदेश मुवाथाई सङ्घको स्वीकृति एवं प्राविधिक सहयोगमा हुने उक्त प्रतियोगिताको सञ्चालन रेमनदाश श्रेष्ठ र यकिन गुरुङले गर्ने जनाइएको छ। रासस
Shares

प्रतिक्रिया