खेल


तेस्रो जितसँगै काठमान्डु प्लेअफ दौडमा बलियो, पोखराको गणितीय सम्भावना मात्र बाँकी

तेस्रो जितसँगै काठमान्डु प्लेअफ दौडमा बलियो, पोखराको गणितीय सम्भावना मात्र बाँकी

लक्ष्मी जि.सी
मंसिर २९, २०८१ शनिबार १२:०, काठमाडौँ

पोखरा एभेन्जर्सलाई पराजित गर्दै काठमान्डु गुर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने सम्भावना बलियो बनाएको छ।

शनिबार भएको पहिलो खेलमा काठमान्डुले पोखरालाई ६ विकेटले हराउँदै तेस्रो जित हासिल गरेको हो। योसँगै उसको प्लेअफ सम्भावना कायम रहेको हो। 

एनपीएलको प्लेअफमा पुग्न काठमान्डुले लिग चरणको अन्तिम खेल जितेर मात्र पुग्दैन, अन्य खेलको नजिता पनि आफूअनुकुल आउनुपर्नेछ। 

यता हारसँगै पोखरा शीर्ष चारको दौडबाट लगभग बाहिरिएको छ। उसको अब प्लेअफ पुग्ने सम्भवना अंकगणितीय रूपमा मात्र बाँकी छ।

६ खेलबाट अंक तालिकामा चार अंक पोखराले अब लिगको अन्तिम खेल जितेर मात्र पुग्दैन। नेट रनरेट र अन्य खेलको नतिजा पनि पक्षमा आउनुपर्नेछ। 

पोखराले दिएको १ सय ३९ रनको लक्ष्य काठमान्डुले १४.१ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो। 

पहिलो विकेटका लागि ओपनर स्टेफन इस्किनाजी र माइकल लेविटले ५.३ ओभरमा ५८ रनको साझेदारी गर्दै काठमान्डुलाई उत्कृष्ट सुरुवात दिलाएका थिए।

दोस्रो विकेटका लागि स्टेफन र भीम सार्कीले ५७ रनको साझेदारी गरेपछि काठमान्डुले प्लेअफ सम्भावना बलियो बनाएको हो। 

स्टेफन ६० रन बनाउँदा विपिन खत्रीको बलमा बोल्डआउट भए। उनले ३४ बलमा १० चौका प्रहार गरे। 

भीम सार्की २२ रनको पेभेलियन फर्के। कप्तान करण केसी १ रनमा आउट भए। 

प्लेअफ पुग्न जित्नैपर्ने दबाबमा रहेको खेलमा पोखराका विपिन खत्रीले ३ विकेट लिए। माइकल लिस्कको नाममा १ विकेट रह्यो। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमान्डुले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३८ रनको योगफल तयार पारेको थियो। 

पोखराका मध्यक्रमका ब्याटर रेमोन रेइफर ४१ रनमा अविजित रहे। उनले ३० बलमा १ चौका र ३ छक्का हाने। 

ओपनर दिनेश खरेल ३८ रन बनाउँदा रासिद खानको बलमा एलबीडब्लु धरापमा परे। २५ बलको सामना गरेका खरेलले ६ चौका र १ छक्का प्रहार गरे।

२७ रन बनाएका दिलीप नाथ पनि रासिद खानकै बलमा बोल्डआउट भए। 

अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। आन्द्रेस गउस र नारायण जोशी शुन्य रनमा नै पेभेलियन फर्के।

आकर्षित गोमेल ८, कप्तान कुशल भुर्तेल ७ रनमा आउट भए। माइकल लिस्क १ रन बनाउँदा करण केसीको बलमा एलबीडब्लु धरापमा परे।

काठमान्डुका लागि रासिद खान र करण केसीले समान ३ विकेट झारे। जेहार्ड इरासमस र माइकल लेविटले समान एक विकेट लिए। 

आजै दिउँसो १ बजे हुने दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्स भिड्दै छन्। चितवन जनकपुरलाई हराउँदै शीर्ष चारको दौड बलियो बनाउन चाहन्छ।

यता एक खेलअघि नै प्लेअफ पुगिसकेको जनकपुर भने चितवनलाई हराउँदै शीर्ष स्थानमा रहेर क्वालिफायर खेल्न चाहन्छ।

लिगका ६ खेलमध्ये ५ मा जित र १ खेलमा हार भोगेको जनकपुर १० अंकमा प्लेअफ खेल्ने पहिलो टोली बनिसकेको छ। 

समान खेलबाट ३ खेलमा जित र ३ खेलमा हार भोगेको चितवन ६ अंकमा तालिकाको चौथो स्थानमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad