नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टिम कर्णाली याक्सले ओमानका पूर्व कप्तान जिसन मक्सुदलाई अनुबन्धन गरेको छ। आइतबार कर्णाली याक्सले आगामी एनपीलका लागि ३७ वर्षीय अनुभवी अलराउन्डरलाई टोलीमा समावेस गरेको हो।
बाँया हाते ब्याटर मक्सुद कर्णाली याक्समा अनुबन्ध हुने पाँचौ खेलाडी हुन्। कर्णाली याक्सले गत साता विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई टोलीमा अनुबन्ध गरिसकेको छ। उनी एनपीएल खेल्ने सबैभन्दा ठूलो नाम हुन्। त्यस्तै, टोलीमा वेस्ट इन्डिजबाट टेष्ट खेलिसकेका चादविक वाल्टन र हङकङबाट अन्तर्राष्ट्रिय खेल खेलिरहेका अनुभवी खेलाडी बाबर हायात छन्।
ज्ञानेन्द्र मल्ल प्रशिक्षक तथा सोमपाल कामी मार्की रहेको कर्णाली याक्सले ट्यालेन्ट हन्टबाट विपिनप्रसाद शर्मालाई आइकोनिक प्लेयर्सका रूपमा छनोट गरिसकेको छ।
टोलीमा नेपाल राष्ट्रिय टोलीबाट खेलिरहेका गुल्सन झा, देव खनाल, नन्दन यादव लगायत छन्। अन्य खेलाडीमा ‘बी’ श्रेणीबाट अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन्। ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिसविक्रमसिंह ठकुरीसँगै दीपक डुम्रे छन्।
यसअघि कर्णाली याक्सले कलाकार स्वस्तिमा खड्कालाई ‘फेस अफ कर्णाली याक्स’ नियुक्त गरेको छ। प्रतियोगिता मंसिर १५ देखि पुस ६ सम्म हुँदै छ।
प्रशिक्षक मल्लले अलराउन्डर मक्सुदको आगमनसँगै टोलीको ब्याटिङ र बलिङ बलियो हुने बताए। उनले भने, ‘मक्सुद अनभुवी ब्याटर र बलर हुन्। उनको आगमनसँगै कर्णाली याक्सको ब्याटिङ र बलिङ लाइन बलियो हुने आशा छ।’
मक्सुदले पनि एनपीएल खेल्न आफू उत्साहित रहेको बताएका छन्। उनले ओमानको लागि ४८ एकदिवसीयमा १२७३ रन बनाएका छन्। त्यस्तै, ७३ टीआई २० खेलमा १३६९ रन बनाएका छन्। त्यस्तै, बलिङतर्फ टी२० आईमा ५१ विकेट लिएका छन्।
Shares

प्रतिक्रिया