नेपाल प्रिमियर लिग (एनपिएल) टोली चितवन राइनोजले जर्सी सार्वजनिक गरेको छ। सोमबार साँझ एक कार्यक्रमकाबीच जर्सी सार्वजनिक गरिएको हो।
कार्यक्रममा एकसिंगे गैँडाको मस्कट, पञ्चेबाजासहित टोलीका खेलाडीले जर्सी लगाएर सार्वजनिक गरिएको थियो। चितवन मेडिकल कलेजको स्वामित्वमा रहेको चितवन राइनोज टिमको ‘थिम सङ’ पनि सोमबार सार्वजनिक गरिएको छ।
कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख दाहालले महानगरले खेल र खेलाडीलाई सदैव प्रोत्साहन गर्ने बताए। दक्ष र क्षमतावान खेलाडी जन्माउन महानगरले खेलक्षेत्रमा लगानी बढाइरहेको उनको भनाइ थियो।
चितवन राइनोजका मार्की खेलाडी मल्लले खेल जित्ने उच्च मनोबलका साथ लागिरहेको बताए। चितवन राइनोज क्लबका अध्यक्ष न्यौपानेले टिमले क्षमतावान खेलाडीलाई समावेश गरेकाले खेल जित्ने दाबी गरे।
यो टिममा कुशल मल्ल, अमरसिंह रौतेला, विपिन रावल, दीपक बोहरा, दिपेश श्रेष्ठ, गौतम केसी, कमलसिंह ऐरी, रञ्जितकुमार, रिजन ढकाल, सन्तोष कार्की, शरद भेस्वाकर छन्। टिमले विदेशी खेलाडी रवि बोपरा, मर्साडी लंगा, ल्यूक मार्टिन बेनकेन्स्टाइन, हसन इसाखिल, जान निकोल लोफ्टी–इटनलाई पनि समावेश गरेको छ।
चितवनमा सन् १९९४ मा गठित चितवन राइनो क्रिकेट क्लबका तत्कालीन कप्तान मनिष सापकोटा र अन्य खेलाडीलाई चितवन राइनोजको जर्सी उपलब्ध गराउनुका साथै राइनो क्लबले त्यो समयमा खेल्ने गरेको पुरानो ब्याट चितवन राइनोजलाई उपहार दिएको थियो।रासस
33
Shares

प्रतिक्रिया