खेल


साफ च्याम्पियनसिप : भुटानलाई हराउँदै बंगलादेश लगातार दोस्रोपटक फाइनलमा

साफ च्याम्पियनसिप : भुटानलाई हराउँदै बंगलादेश लगातार दोस्रोपटक फाइनलमा

तस्बिर : सरोज नेपाल


लक्ष्मी जि.सी
कात्तिक ११, २०८१ आइतबार १५:२२, काठमाडौँ

भुटानलाई पराजित गर्दै साविक विजेता बंगलादेश लगातार दोस्रो पटक साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा आइतबार भएको पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानमाथि ७–१ को फराकिलो जित दर्ता गर्दै तेस्रो पटक फाइनलमा पुगेको हो। 

बंगलादेशले अब उपाधिका लागि बुधबार दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ। दोस्रो सेमिफाइनलमा आजै साँझ घरेलु टोली नेपाल र भारत भिड्दैछन्। 

च्याम्पियनसिपमा बंगलादेश तेस्रो पटक फाइनलमा पुगेको हो। यसअघि सन् २०१६ मा भएको साफ च्याम्पियनसिपमा बंगलादेश पहिलो पटक फाइनलमा पुगेको थियो। 

साविक विजेतासँग पराजित भुटान भने लगातार दोस्रो पटक बंगलादेशसँग पराजित हुँदै अन्तिम चारबाट नै बाहिरिएको हो। अघिल्लो संस्करण भुटान बंगलादेशसँग ८–० को फराकिलो अन्तरले पराजित भएको थियो। 

बंगलादेशको जितमा तोहुरा खातुनले ह्याट्रिक गरिन्। कप्तान सविना खातुनले दुई तथा रितु पूर्णा चक्मा, सिलेजेमले समान एक गोल गरे।

खेलको ५८ औँ मिनेटमा तोहुरा खातुनले ह्याट्रिक पूरा गर्दा टोलीका लागि छैटौँ गोल गरेकी थिइन्। 

खेलको ७२ औँ मिनेटमा सन्जिदा अख्तरको कर्नरमा सिलेजेमको गोलमा बंगालदेशले ७–० को अग्रता बनायो। 

त्यसअघि पहिलो हाफको सातौँ मिनेटमा रितु पुर्णा चक्माले डिबक्स बाहिरबाट गरेको सशक्त प्रहार सिधै गोलमा परिणत भयो। 

खेलको १५ औँ मिनेटमा तोहुरा खातुनको गोलमा बंगलादेशले अग्रता दोब्बर पार्यो। डीबक्स एरिका नजिक उनले भुटानका दुई डिफेन्डरलाई छक्याउँदै सुन्दर गोल गरिन्। 

खेलको २३ औँ मिनेटमा भुटानकी नाम्गेद डेमाको प्रहार बंगालदेशकी गोलरक्षकले पन्च गर्दै जोगाइन्। 

खेलको २६ औँ मिनेटमा सविना खातुनको गोलमा बंगालदेशले ३–० को अग्रता बनायो। डिबक्स भित्रबाट मोनिका चक्माको पासमा सविनाले बललाई पोष्टको जाली चुमाइन्। 

खेलको ३५ औँ मिनेटमा तोहुरा खातुनको गोलमा बंगालदेशले ४–० को अग्रता बनायो। 

खेलको ३७ औँ मिनेटमा कप्तान सविनाको गोलमा बंगलादेशले पहिलो हाफमा नै ५–० को फराकिलो अग्रता बनाएको छ। सविनाले भुटानका दुई डिफेन्डरलाई बिट गर्दै अघि बढाएको बललाई गोलरक्षकलाई समेत छलाउँदै बललाई उत्कृष्ट फिनिसिङ दिइन्।  

खेलको ४१ औँ मिनेटमा डेकी लाजोमको गोलमा भुटानले खेललाई ५–१ को अवस्थामा ल्यायो। 

छिरिङ लादेनको क्रसमा डेकीले बंगलादेशकी किपर बिट भएको मौका छोप्दै गोल गरेकी थिइन्। साफ च्याम्पियनसिपमा भुटानले बंगालदेशको पोस्टमा पहिलो पटक गोल गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad