खेल


साफ महिला च्याम्पियनसिपमा भारतको विजयी सुरुवात

साफ महिला च्याम्पियनसिपमा भारतको विजयी सुरुवात

नेपालखबर
कात्तिक १, २०८१ बिहिबार १९:३३, काठमाडौँ

पाँच पटकको विजेता भारतले साफ महिला च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा बिहिबार भएको उद्घाटन खेलमा भारतले पाकिस्तानविरुद्ध ५–२ को फराकिलो जित हात पारेको हो। 

पहिलो हाफमा दबाबमा रहेको पाकिस्तानले दोस्रो हाफमा केही सुधारिएको प्रर्दशन गरे पनि टोलीको हार टार्न भने सकेन। भारतले सुरुवातबाट नै आक्रमणमा जोड दिएको थियो। 

खेलको पहिलो हाफमा ४–१ को अग्रता बनाएको भारतले दोस्रो हाफमा १ गोल थप्दा थप १ गोल खान पुग्यो। 

खेलको ४७ औँ मिनेटमा क्याला मारी सिद्दीकीको गोलमा पाकिस्तान खेलमा फर्कने संकेत गरेको थियो। रमिन अफ्रिदीको प्रहारलाई सिद्दीकीले नियन्त्रणमा लिर्दै गोल गरेपछि पाकिस्तानले भारतविरुद्ध ४–२ ले गोलअन्तर कम गरेको थियो। 

खेलको ५९ औँ मिनेटमा भारतकी जुली किसानले पाकिस्तानकी रमिन अफ्रिदीलाई लडाएपछि पाकिस्तानले फ्रि किकको मौका पायो। 

पाकिस्तानकी कप्तान मारियाको फ्रि किक क्रसबारको थोरै माथिबाट बाहिरिँदा अग्रता कम गर्ने सुन्दर मौका गुम्यो। 

खेलको ६३ औँ मिनेटमा नादिया खानको पासमा अमिना हनिफको फितलो प्रहार सेकेन्ड बारको नजिकबाट बाहिरियो। 

खेलको ६९ औँ मिनेटमा पाकिस्तानकी नादियाको ब्याक पासमा समिन मलिकको प्रहार क्रसबार माथिबाट बाहिरियो। 

खेलको ७८ औँ मिनेटमा डालिमा छिब्बरकोे कर्नरमा वैकल्पिक खेलाडी ज्योति चौहानको हेडर गोलमा भारतले ५–२ को अग्रता बनायो। 

त्यसअघि पहिलो हाफको पाचौँ मिनेटमा रन्जना चानुको क्रसमा दाङमेई ग्रेसको गोलमा भारतले सुरुवाती अग्रता बनाएको थियो। 

खेलको १७ औँ मिनेटमा मनीषाको गोलमा भारतले अग्रता दोब्बर पार्‍यो। मिडफिल्डबाट बल अघि बढाएकी मनीषाको प्रहार पहिलो बारमा लाग्दै गोलमा परिणत भएको थियो। 

खेलको ३५ औँ मिनेटमा मनीषाले बल चलाएपछि बालादेवीको गोलमा भारतले ३–० को फराकिलो अग्रता बनाएको हो। पाकिस्तानकी गोलरक्षक निशा अस्रफले बल धेरै समय होल्ड गरेको भन्दै रेफ्रीले पेनाल्टी एरियाभित्र सिधै इन्डिरेक्ट फ्रि किकको इसारा गरेकी थिइन्। 

खेलको ४३ औँ मिनेटमा पाकिस्तानकी कप्तान मारियाको आत्मघाती गोलमा भारतले अग्रता फराकिलो पार्‍यो। 

रन्जनाको क्रसमा बालादेवीको हेडर पाकिस्तनकी गोलरक्षकले जोगाएपनि अन्जु तामाङको हेडर पुन गोलरक्षकले जोगाइन्। तर ग्रेसको प्रहार पाकिस्तानकी कप्तान मारिया खानलाई लाग्दै गोलमा परिणत भएको थियो। 

पहिलो हाफको इन्ज्युरी समयमा पाकिस्तानले पेनाल्टीमा गोल गर्‍यो। भारतकी कप्तान आशालताले नादिया खानलाई लडाएपछि पाकिस्तानले पेनाल्टी अवसर पाएको थियो। पेनाल्टीमा पाएको मौकालाई पाकिस्तानकी सुहा हिरानीले खेर जान दिइनन्। र गोलअन्तर कम गरिन्। 

च्याम्पियनसिपमा भोलि शुक्रबार दुई खेल हुनेछ। शुक्रबारको पहिलो खेलमा समूह 'बी' का श्रीलंका र माल्दिभ्स खेल्नेछन्। सो खेल दिउँसो साढे १ बजे सुरु हुनेछ। 

भोलिकै दोस्रो खेलमा घरेलु टोली नेपालले भुटानविरुद्ध खेल्नेछ। सो खेल साँझ साढे ५ बजे सुरु हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad