इङ्ल्यान्ड र पाकिस्तानबीचको मुल्तान क्रिकेट स्टेडियममा भएको पहिलो टेस्टमा इंग्ल्यान्डले आयोजक पाकिस्तानलाई एक इनिङ्स र ४७ रनले हराएको छ।
टेस्ट क्रिकेटको इतिहासमा कुनै टोलीले पहिलो इनिङ्समा ५ सयभन्दा बढी रन बनाएर पनि इनिङ्सले हार बेहोरेको यो पहिलोपटक हो।
इंग्ल्यान्डको टोली तीन टेस्टको शृंखला खेल्न पाकिस्तानको भ्रमणमा छ।
यस सिरिजअन्तर्गतको पहिलो टेस्ट जित्दै पाहुना टोलीले अब १–० को अग्रता लिएको छ।
पाकिस्तानी टोलीले यो टेस्ट म्याच हारे पनि एक समय निकै बलियो स्थितिमा थियो। पाकिस्तानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो।
आफ्नो पहिलो इनिङ्समा ओपनर अब्दुल्लाह शफिक, कप्तान शान मसुद र तल्लो क्रमका आगा सलमानको उत्कृष्ट शतकका कारण पाकिस्तानले ५५६ रनको ठूलो स्कोर बनाएको थियो।
मध्यक्रममा साउद शकिलले पनि ८२ रनको राम्रो इनिङ खेले।
तर बाबर आजमले राम्रो सुरुवातलाई ठूलो इनिङ्समा परिणत गर्न सकेनन्। बाबरले ३० रनको इनिङ खेले। मोहम्मद रिजवान पनि खाता नखोलीकन आउट भए।
इंग्ल्यान्डका ब्याट्सम्यानले पनि आफ्नो पहिलो इनिङ्समा धेरै रन बनाए। इंग्ल्यान्डका लागि ह्यारी ब्रुकले ट्रिपल सेन्चुरी र जो रुटले दोहोरो शतक प्रहार गरे। ह्यारी ब्रुकको ३१७ रनको इनिङ्स र जो रुटको २६२ रनको मद्दतले इंग्ल्यान्डले ७ विकेट गुमाएर ८२३ रनको ठूलो स्कोर बनायो।
तर, दोस्रो इनिङ्समा पाकिस्तानी ब्याट्सम्यान पूर्णतया असफल भए। तल्लो क्रममा आगा सलमान (६३ रन) र आमिर जमाल (५५ रन)ले केही समय संघर्ष गरे पनि हारबाट बच्न सकेनन्।
तेस्रो इनिङ्समा पाकिस्तानी टोलीले २२० रन मात्र बनाउन सक्यो र इंग्ल्यान्डले यो पहिलो टेस्ट एक इनिङ्स र ४७ रनले जित्यो।
यस सिरिजको दोस्रो टेस्ट अक्टोबर १५ देखि मुल्तानमा हुनेछ भने तेस्रो टेस्ट खेल २४ अक्टोबरदेखि रावलपिन्डीमा हुनेछ।
Shares

प्रतिक्रिया