ad ad

खेल


एरिका र रोहित वर्ष खेलाडी, कसले कुन पुरस्कार पाए? (तस्बिरहरू)

एरिका र रोहित वर्ष खेलाडी, कसले कुन पुरस्कार पाए? (तस्बिरहरू)

महिलातर्फ वर्ष खेलाडी घोषित एरिका । तस्बिर : सरोज नेपाल


नेपालखबर
भदौ २८, २०८१ शुक्रबार २१:२५, काठमाडौँ

करातेकी एरिका गुरुङ र क्रिकेटका रोहितकुमार पौडेल एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८० को वर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन्।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले शुक्रबार आयोजना गरेको अवार्डमा वर्ष उत्कृष्ट महिला खेलाडीमा करातेकी एरिका र वर्ष उत्कृष्ट पुरुष खेलाडीको अवार्ड रोहित पौडेलले हात पारे।

चीनको हाङझाओमा भएको १९औं एसियाली खेलकुदमा रजत पदक विजेता एरिकाले फुटबलकी सावित्रा भण्डारी, क्रिकेटकी रुबिना क्षेत्री, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र कबड्डीकी मेनुका राजवंशीलाई पछि पार्दै अवार्ड जितेकी हुन्।

राष्ट्रिय क्रिकेट टोलीका कप्तान समेत रहेका रोहितले क्रिकेटकै दीपेन्द्रसिंह ऐरी, करातेका मोहम्मद सेखु आलम, फुटबलका अनन्त तामाङ र गल्फका सुवास तामाङलाई पछि पार्दै वर्ष उत्कृष्ट खेलाडी बन्न सफल भए।

वर्ष उत्कृष्ट खेलाडी बनेका एरिका र रोहितले पल्सर एनएस २०० मोटरबाइक प्राप्त गरे।

पिपल्स च्वाइसको अवार्ड भने भलिबलकी कविता भट्टले हात पारिन्। ईसेवाको भोटिङ, मञ्चका सदस्यको मत, फेसबुक लाइक र प्रमुख प्रशिक्षकको मतका आधारमा कविताले पिपल्स च्वाइस अवार्ड जित्न सफल भईन्। कविताले कुल मतभारको ५६ प्रतिशत मत प्राप्त गरिन्।

रोहितको अवार्ड ग्रहण गर्दै उनकी आमा

पिपल्स च्वाइस अवार्डको मनोनयनमा कबड्डीकी मानमती बिष्ट, फुटबलकी प्रीति राई, रग्बीका श्रीराम श्रेष्ठ र क्रिकेटका गुल्सन झा परेका थिए।

पिपल्स च्वाइस विजेता कविताले पल्सर एनएस ४०० मोटर बाइक प्राप्त गरिन्।

वर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड भने करातेका कुशलले प्राप्त गरे। एरिकाले एसियाली खेलकुदमा रजत पदक जित्दा कुशल टोलीका मुख्य प्रशिक्षक थिए।

वर्ष उत्कृष्ट प्रशिक्षक विजेता कुशलले पल्सर एनएस २०० मोटरबाइक पाए।

प्रशिक्षक कुशलले पारा तेक्वान्दोका कविराज नेगी लामा, क्रिकेटका मोन्टी देसाई, कवड्डीका पार्वती राई र भारोत्तोलनका सञ्जय महर्जनलाई पछि पारे।

युवा वर्ष खेलाडी अवार्ड भारोत्तोलनका हेमन्त पालले पाए। हेमन्तले अवार्डसँगै पल्सर एनएस २०० मोटरसाइकल पुरस्कार पाए। हेमन्तले क्रिकेटका अर्जुन कुमाल, फुटबलकी प्रिती राई, टेवलटेनिसका सुजन गडाल र टेनिसका सुनिरा थापालाई पछिप पारे।

१६ वर्षे हेमन्तले भारतको नोयडामा भएको एसियन जुनियर भारोत्तोलन च्याम्पियनसिपमा तीन कांस्य जितेका थिए। उनले नेपाली भारोत्तोलनलाई ३८ वर्षपछि एसियालीस्तरमा पदक दिलाएका थिए।

पारा एथलिट अवार्ड तेक्वान्दोकी पलेसा गोवर्धनले प्राप्त गरिन्। पलेसाले चौथो पारा एसियन गेम्समा नेपालका लागि पहिलोपल्ट कांस्य पदक दिलाउन सफल भएकी थिईन्। उनले यसै वर्ष नेपाललाई पेरिस पारालिम्पिकमा ऐतिहासिक कास्य पदक दिलाएकी थिईन्।

लाइफ टाइम एचिभमेन्ट अवार्डबाट भने नेपाल क्रिकेट संघ (क्यान) पूर्वअध्यक्ष विनयराज पाण्डे सम्मानित भए।

स्पेसल अवार्डबाट भलिबलका प्रशिक्षक कुमार राई सम्मानित भए। उनी दुई दशकभन्दा बढी समय भलिबलको प्रशिक्षणमा सक्रिय छन्।

टिम अफ दी इयरको अवार्ड भने १९औंं एसियाली खेलकुदमा नेपाललाई कांस्य पदक दिलाउन सफल महिला कबड्डी टोलीले प्राप्त गर्‍यो।

लाइफटाइम एचिभमेन्ट अवार्ड, स्पेशल अवार्ड र पारा एथलिट विजेताले जनही एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरे।

एसियन स्पोर्टस् जर्नालिस्ट अवार्ड एआईपीएस एसियाका अध्यक्ष हि डोङ जङलाई प्रदान गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .