खेल


संविधान दिवसका अवसरमा नेपालगञ्जमा १० किलोमिटर लामो ‘रात्रीदौड’ हुने

संविधान दिवसका अवसरमा नेपालगञ्जमा १० किलोमिटर लामो ‘रात्रीदौड’ हुने

नेपालखबर
भदौ १०, २०८१ सोमबार १८:१५, काठमाडौँ

संविधान दिवसका अवसरमा आगामी असोज ३ गते १० किलोमिटर लामो रात्रीदौड आयोजना हुने भएको छ।

धारा नेपालगञ्ज म्याराथनको १० औं संस्करणलाई उत्सवमय बनाउन प्रि–इभेन्टका रुपमा नेपालमै पहिलोपटक नेपालगन्ज १० किमी रात्रीदौड आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

आयोजकका अनुसार संविधान दिवस २०८१ का अवसरमा असोज ३ गते साँझ ९ बजे स्थानीय बीपीचोकबाट दौड सुरु हुनेछ। एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश (एम्स)बाट प्रमाणीकरण रुटमा रात्रीकालीन दौड सञ्चालन गरिने सोमबार जारी विज्ञप्तिमा उल्लेख छ।

नेपालगञ्ज म्याराथनको आयोजक क्रियटिभ ह्याण्डस्ले धारा नेपालगञ्ज म्याराथनको १० औं संस्करणलाई भव्य बनाउन अन्य विभिन्न १० इभेन्टसँगै रात्रीदौड आयोजना गर्न लागेको जनाएको छ। धारा नेपालगञ्ज म्याराथनको १० औँ संस्करण आउँदो २२ मंसिर, २०८१ शनिबार हुने घोषणा भइसकेको छ। १ भदौदेखि खेलाडी दर्तासमेत खुलिसकेको छ।

पहिलोपटक आयोजना हुनलागेको हुँदा नाइट रनमा व्यवसायिक र कम्तिमा ५ किमी दौडको अनुभव भएका धावक–धाविकालाई मात्र सहभागी गराइने आयोजकको तयारी छ। पुरुष, महिला र भेट्रानतर्फ स्पर्धा गराइने छ। १० किमी रात्रीदौडसँगै अन्यका लागि फन रनका रुपमा सहभागी गराइने छ।

पुरुष र महिलातर्फका शीर्ष तीन जनालाई क्रमशः नगद २५ हजार, १५ हजार र दश हजार नगदले पुरस्कृत गरिनेछ। भेट्रानतर्फ १५ हजार, १० हजार र ५ हजार नगद प्रदान गरिनेछ। दर्ता मिति यही भदौ १५ गतेदेखि २० गतेसम्म राखिएको छ। रात्रीकालीन दौड भिन्दै प्रकृतिको भएको हुँदा आयोजकले विशेष व्यवस्थापन, तयारी र सुरक्षा प्रबन्ध मिलाएको छ।

नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको दिन ५ मंसिर २०६३ को स्मरणमा हरेक वर्ष मंसिरको पहिलो शनिबार हुँदै आएकोमा यस वर्ष कर्णालीमा बृहत राष्ट्रिय खेलकुद् परेकाले तीन मंसिर २२ गते शनिवार हुन लागेको हो।

दशक लामो सशस्त्र द्वन्द्व विधिवत अन्त्य भई देशले शान्ति, विकास र समृद्धिको बाटोमायात्रा तय गरेको दिनको स्मरण गर्दै ५ मंसिरमा नेपालगन्जको बीपीचोक र कोहलपुर चौराहामा दीप प्रज्वलन गरिँदै आएको छ।

क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको दशौं धारा नेपालगन्ज म्याराथनले एम्सको प्रमाणीकरण रुटमार्फत नेपालगन्ज म्याराथनले नेपालकै छैटौं पुरानो सहर नेपालगन्ज र उदीयमान सहर कोहलपुरलाई जोड्दैआएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad