ad ad

खेल


एएफसी च्यालेन्ज लिग प्लेअफ भोलि, चर्च ब्वाइजका लागि भुटानको पारो चुनौती

एएफसी च्यालेन्ज लिग प्लेअफ भोलि, चर्च ब्वाइजका लागि भुटानको पारो चुनौती

नेपालखबर
साउन २८, २०८१ सोमबार २१:३०, काठमाडौँ

नेपालको लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले मंगलबार एएफसी च्यालेन्ज लिग प्लेअफमा भुटानको पारो एफसीको चुनौती सामना गर्दै छ।

यी दुईबीच मंगलबार साँझ ६ बजे दशरथ रंगशालामा प्रतिस्पर्धा हुँदै छ। सिगंल लेगमा हुने खेलको विजेताले सिधै समूह चरणमा स्थान बनाउनेछ।

चर्च ब्वाइजले समूह चरणमा स्थान बनाए १ लाख अमेरिकी डलर (नेपाली रुपैयाँ १ करोड ३३ लाख) पाउनेछ। 

तीनपटक विश्वकप खेलिसकेका जापानका केइसुकी होन्डासहित ११ विदेशी खेलाडीको साथ पाएको पारो चर्च ब्वाइजका लागि चुनौती बन्न सक्नेछ। नेपाली घरेलु लिगमा नै सफल विलियम ओपोकीलगायत चर्चित खेलाडी पारोले यही प्रतियोगिताका लागि भित्राएको छ। यद्यपि, चर्च ब्वाइजमा पनि नेपाली राष्ट्रिय टोलीका अधिकांश सदस्य छन्। त्यसैले चर्च ब्वाइजले भुटानी प्रतिद्वन्द्वीसँग खेल्दा नेपाली राष्ट्रिय टोलीको झल्को दिनेछ।  

करिब एक महिनादेखि चर्च ब्वाइजले प्रतियोगिताको तयारी गरेको छ। राष्ट्रिय टोलीबाट खेलेका खेलाडीबीच तालमेल मिलेको र यसले खेलमा प्रभाव ल्याउने विश्वास चर्च ब्वाइजका प्रशिक्षक बालगोपाल महर्जनलाई छ। तीन हप्ताभन्दा बढी समय भएकाले टिमको सन्तुलन मिलेको उनी बताउँछन्। खेलाडीले आफ्नो क्षमता र रणनीतिअनुरूप खेल्नसके घरेलु समर्थकलाई सुखद् नतिजा दिन सक्षम हुने प्रशिक्षक महर्जनको विश्वास छ।

पारोले अहिले भुटानमा लिग खेलिरहेको छ। लिगमा पारो शीर्ष स्थानमा छ। उनीहरूबीच राम्रो तालमेल पनि मिलेको छ। साथै चर्च ब्वाइजसँगको खेलका लागि पारोले जापानका पाँच खेलाडी, युरोप र केही अफ्रिकन खेलाडीलाई भित्र्याउँदै थप बलियो बनाएको छ।एएफसीले विदेशी खेलाडी अनुबन्धमा सहज बनाएपछि पारोमा ११ विदेशी खेलाडी छन्। 

यसले लगानी धेरै गर्न नसक्ने क्लबका लागि केही गाह्रो हुने चर्च ब्वाइजका प्रशिक्षक बालगोपाल महर्जन बताउँछन्। तथापि, पारोमा विदेशी खेलाडीबीच त्यति राम्रो तालमेल मिल्न नसकेको उनको बुझाइ छ।

चर्च ब्वाइजले अफिसियल मैदानमा प्रशिक्षण गर्ने स्थान राम्रो पाउन सकेको छैन। पाहुना टोली पारोले प्रशिक्षण गर्दै आएको आर्मीको फुटबल मैदानमा खेल्न अयोग्य रहेको उल्लेख गरेपछि उसलाई दशरथ रंगशालामा प्रशिक्षण गर्ने अवसर दिइएको थियो। चर्च ब्वाइजले प्रशिक्षण गरिरहेको मैदान खेल्नयोग्य नै नभएको प्रशिक्षक महर्जनको भनाइ छ। यद्यपि, मैदान अभाव हुँदा विकल्प नरहेको उल्लेख गरे। त्यसले गर्दा आफ्नो टोलीलाई पनि केही घाटा हुने उनको बुझाइ छ।

चर्च ब्वाइजका कप्तान अनन्त तामाङ आफूहरू दशरथ रंगशालामा लामो समयदेखि खेल्दै आएकाले त्यहाँ प्रशिक्षण गर्न नपाए पनि केही फरक नपर्ने ठान्छन्। आफ्नो योजना र रणनीतिअनुरूप खेल्न सके जुनसुकै मैदानको तयारीले पनि नतिजामा कुनै असर नपर्ने उनले बताए। साथै कप्तान अनन्तले विपक्षी टोलीमा जस्तोसुकै नाम भएको खेलाडी आए पनि आफ्नो टोलीप्रति पूर्ण विश्वास रहेको उल्लेख गरे। उनले आफ्नो टोलीमा रहेका खेलाडीमा पनि क्षमता रहेको बताएका छन्।

पारोका प्रशिक्षक पुष्पलाल शर्माले यसपटक राम्रो तयारी र बलियो टोलीसहित आए पनि खराब मैदानका कारण चुनौती बन्न सक्ने बताए। उनले खराब मौसमका कारण प्रशिक्षण मैदानको अवस्था नराम्रो रहेको उल्लेख गर्दै समयमा नै प्रशिक्षण गर्न नपाएकोमा दुखेसो व्यक्त गरे। पछिल्लो सिजन मच्छिन्द्रसँग नतिजा सुखद् नभए पनि यसपटक आफ्नो टोली बलियो रहेको र चर्च ब्वाइजविरुद्ध राम्रो चुनौती दिने उनको विश्वास छ।

उनले नेपाल भुटानको नजिककै छिमेकी रहेको र त्यसैले हरेक खेलाडीका बारे राम्रोसँग जानकार रहेको बताए। चर्च ब्वाइजबारे पनि राम्रो जानकार रहेकाले खेल्न सहज हुने उनको विश्वास छ। नेपालमा पछिल्लो समय लिग हुन नसकेको र त्यसको फाइदा पारोले लिने शर्मा बताउँछन्। चर्च ब्वाइजमा सबै राष्ट्रिय टोलीका खेलाडी रहेकाले टोली बलियो हुने तर आफ्नो टोलीले कुनै गल्ती नगर्ने उनको भनाइ छ।

पारोका कप्तान किन्ले वाङचुकले अघिल्लोपटक नेपाल भ्रमण सुखद् नरहे पनि यसपटक राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गरे। त्यसका लागि आफ्नो टोलीले राम्रो तयारी गरेको उनले बताए।

पारो प्लेअफ खेल्न गत शनिबार नेपाल आइपुगेको हो। यसबीच पाहुना टोलीले नेपालको मौसमअनुरूप प्रशिक्षण गर्न पनि पाएको छ। पछिल्लो सिजनको तुलनामा यसपटक बलियो टोली रहेको पारो नेपालको नयाँ लिग च्याम्पियन चर्च ब्वाइजका लागि चुनौती बन्न सक्छ।

अघिल्लो सिजन नेपालको क्लब मच्छिन्द्र क्लबले पारोलाई हराउँदै दोस्रो चरणको यात्रा तय गरेको थियो। त्यो सफलता जारी राख्न चर्च ब्वाइजले बलियो टोलीविरुद्ध उत्कृष्ट प्रदर्शन गर्नुपर्नेछ। 

च्यालेन्ज लिग प्लेअफमा चार देशका लिग च्याम्पियनले खेल्दै छन्। सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइजले भुटानी लिग च्याम्पियन पारो एफसीसँग तथा किर्गिस्तानको लिग च्याम्पियन अब्दिस एटा कान्टले अफगानिस्तानी लिग च्याम्पियन क्लब अट्याक इनर्जीसँग खेल्ने तय भएको छ। दुई विजेताले अघिल्लो चरणको यात्रा तय गर्नेछन्। 

राष्ट्रिय टोलीका डिफेन्डर अनन्त तामाङको कप्तानीमा रहेको चर्च ब्वाइजमा एरिक विष्ट, अञ्जन विष्ट र आयुष घलानजस्ता नेपाली टोलीबाट प्रभावशाली प्रदर्शन गरिसकेका खेलाडी खेल्दै छन्। त्यसैले पनि चर्च ब्वाइज नेपालको राष्ट्रिय टोलीजस्तै रहेको पारोका प्रशिक्षक शर्माले पनि उल्लेख गरिसकेको छ।

चर्च ब्वाइजमा तीन विदेशी ओमोलाजा नुरेन करीम (नाइजेरिया), पिटर बान्दा (जाम्बिया) र मोजेस ग्याबा त्वाम (घाना) खेलाडी छन्।
अन्य खेलाडीमा लाकेन लिम्बू, दीप कार्की, टेकेन्द्र सिंह थापा, रेम्बोकुमार चौधरी, सञ्जीव बिष्ट, छिरिङ लामा, सनिश श्रेष्ठ, सौभाग्य राई, सन्तोष खत्री, रोहन कार्की र विवेक पौडेल छन्। यस्तै निरज चौधरी, एकराज बुढाथोकी, योगेश गुरुङ, मनीषकुमार जर्गा र आदित्य शाक्य छन्।

पारोसँगको खेलका लागि जनरल पारापिटतर्फ दुई सय र भीआईपीतर्फ पाँच सय रुपैयाँ टिकट मूल्य तय गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .