एसियाली क्रिकेट काउन्सिल (एसीसी) को आयोजनामा श्रीलंकामा भएको एसीसी महिला एसिया कपमा नेपाली टोलीले एउटा जित दर्ता गरेर श्रीलंकाबाट फर्किएको छ।
टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार स्वागत गरिएको छ।
तेस्रोपटक एसिया कप खेल्ने मौका पाएको नेपालले यसअघि उक्त प्रतियोगितामा सहभागितामै चित्त बुझाउनुपरेको थियो।
यसअघि सन् २०१२ र २०१६ मा नेपाल जितविहीन हुँदै एसिया कपको समूह चरणबाटै बाहिरिएको थियो। यसपटक भने युएईलाई हराउँदै नेपालले एसिया कपमा ऐतिहासिक एउटा जित दर्ता गरेको हो।
त्यसो त यसपालि पनि नेपाल समूह चरणबाटै बाहिरिनुपरेको छ। प्रतियोगितामा आफ्नो अन्तिम खेलमा नेपालले गत मंगलबार साविक विजेता भारतसँग ८२ रनले पराजय बेहोर्नुपरेको थियो।
एसीसी महिला एसिया कप जुलाई १९ मा सुरू भएर २८ मा सकिने तालिका छ।

नेपाली राष्ट्रिय महिला क्रिकेट टोली इन्दु बर्माको कप्तानीमा असार २२ गते श्रीलंका प्रस्थान गरेको थियो।
समूह चरणको पहिलो खेलमा युएईमाथि ६ विकेटको ऐतिहासिक जित निकाल्दै सानदार सुरुवात गरे पनि दोस्रो खेलमा पाकिस्तानविरुद्ध ९ विकेटको फराकिलो हार व्यहोर्न पुग्यो।
समूह ए मा नेपालविरुद्धको जितसँगै भारत अपराजित रहँदै सेमिफाइनलमा पुग्यो। भारतले ३ खेलबाट ६ अंक बनाएको छ। २ खेलमा जित र १ खेलमा हार भोगेको पाकिस्तान दोस्रो स्थानमा रहँदै अन्तिम चारमा पुगेको हो।
२ अंक जोडेको नेपाल तेस्रो स्थानमा रहेर एसिया कप यात्रा टुंग्याउन पुग्यो। युएई भने समूह चरणका सबै खेलमा पराजित हुँदै अंक तालिकाको पुछारमा रहेर घर फर्कियो।
सेमीफाइनलका खेलहरू शुक्रबार हुँदै छन्। भारत र बंगलादेशमध्ये एक र पाकिस्तान र श्रीलंकमध्ये अर्को फाइनलमा पुग्नेछन्। उपाधिका लागि अन्तिम खेल आइतबार हुनेछ।








Shares

प्रतिक्रिया