ad ad

खेल


बंगलादेशसँग हार्दै नेपालले सक्यो विश्वकप यात्रा

बंगलादेशसँग हार्दै नेपालले सक्यो विश्वकप यात्रा

फाइल तस्बिर


नेपालखबर
असार ३, २०८१ सोमबार ८:४९, काठमाडौँ

समूह चरणका तीन खेलमा पराजित हुँदै नेपालको आईसीसी टी-२० विश्वकपको यात्रा समाप्त भएको छ। 

१४ वर्षपछि विश्वकप खेलेको नेपाल अन्तिम खेलमा बंगलादेशसँग २१ रनले पराजित हुँदै विश्वकपको यात्राबाट बाहिरिएको हो।

पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको नेपालको श्रीलंकासँगको दोस्रो खेल भने वर्षाका कारण रद्द भएको थियो। तेस्रो खेलमा नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको थियो। 

नेपालविरुद्ध जित हासिल गरेपछि बंगलादेश सुपर ८ मा पुगेको छ। नेपाल रहेको समूहबाट दक्षिण अफ्रिका शीर्ष र बंगलादेश दोस्रो स्थानमा रहँदै सुपर ८ मा पुगेका छन्। 

नेपालविरुद्धको जितसँगै बंगलादेशले सन् २००९ पछि सबैभन्दा कम योगफल तयार पारेर पनि जित निकाल्ने टोली बनेको छ। 

बंगलादेश अब सुपर ८ मा भारत, अफगानिस्तान, अस्ट्रेलिया रहेको समूह ए मा रहनेछ। बंगलादेशले दिएको १ सय ७ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल ४ बल अगावै ८५ रन बनाउँदा अलआउट भयो। 

नेपालका लागि कुशल मल्लले बनाएको २७ रन नै सर्वाधिक रह्यो। दीपेन्द्र सिंह ऐरीले २५ रन थपे। 

एक समय ६.६ ओभरमा ५–२६ को संकटपूर्ण अवस्थामा रहेको नेपालका लागि छैटौँ विकेटका लागि कुशल र दीपेन्द्रसिंह ऐरीले ५२ रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए। 

१७ औँ ओभरको चौथो बलमा कुशल मल्ल क्याच आउट हुन पुगे। कुशलले ४० बलमा १ चौका र १ छक्का सहयोगमा २७ रन बनाउँदा मुस्ताफिजुर रहमानको बलमा नज्मुल होसैनको बलमा क्याच आउट भए। 

१९ औँ ओभरको अन्तिम बलमा ऐरी २५ रन बनाउँदा क्याच आउट भए। उनले ३१ बलमा २ चौका र १ छक्का हाने। 

बंगलादेशविरुद्ध उत्कृष्ट बलिङ गरेको नेपालले ब्याटिङमा भने सम्हालिन सकेन। बंगलादेशको घातक बलिङसामु नेपालका ब्याटरहरु लामो समय क्रिजमा टिक्न सकेनन्।  

सन्दीप जोरा १ रनमा क्याच आउट भए। छैटौँ ओभरको चौथो बलमा नेपालले ओपनर आशिफ शेखलाई गुमायो। १४ बलमा ४ चौका मद्दतमा १७ रन बनाएका ओपनर आशिफ मुस्ताफिजुर रहमानको बलमा सकिब अल हसनको हातबाट क्याच आउट भए। पाचौँ ओभरको दोस्रो बलमा कप्तान रोहित पौडेल १ रन बनाउँदा क्याच आउट भए। 

नेपालले तेस्रो ओभरमा लगातार दुई विकेट गुमाएको थियो। तेस्रो ओभरको दोस्रो बलमा ओपनर कुशल भुर्तेललाई ४ रनमा गुमाएको नेपालले चौथो बलमा अनिल शाहलाई गुमाएको थियो।

बंगलादेशका लागि तान्जिम हसन सकिब नेपालविरुद्द घातक बने। उनले आफ्नो स्पेलमा २ मेडन राख्दै मात्र ७ रन दिदा ४ विकेट लिए। मुस्ताफिजुर रहमानले तीन विकेट लिए। सकिब अल हसनले दुई तथा तास्कीन अहमदले एक विकेट लिए। 

त्यसअघि वेष्ट इण्डिजको सेन्ट भिन्सेन्टस्थित अर्नोस भाले स्टेडियममा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङ गरेको बंगलादेश ३ बल अगावै १ सय ६ रन बनाउँदा अलआउट भयो। 

बंगलादेशका लागि सकिब अल हसनले बनाएको १७ रन नै सर्वाधिक रह्यो। महम्मदुल्लाह र रिसद हुसैनले समान १३ रन बनाए। जाकर अलीले १२ र लिटोन दासले १० रन बनाउन बाहेक अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

नेपालले सुरुवात देखि नै बंगलादेशलाई दबाबमा राखेको छ। नेपाली बलरहरु घातक बन्दा सुपर ८ मा पुग्न नेपाललाई जित्नै पर्ने दबाबमा रहेको बगंली टोलीका ब्याटरहरु नेपाली बलरसामु लामो समय क्रिजमा टिक्न सकेका छैनन्। 

तिव्र गतिका बलर सोमपाल कामीले इनिङ्सको पहिलो बलमा नै विकेट लिदै नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए। बंगलादेशका ओपनर तान्जिद हसन रोयल डक आउट भए। 

सोमपालले नै पाचौँ ओभरको तेस्रो बलमा लिटोन दासलाई १० रन बनाउँदा विकेट किपर आशिफ शेखको हातबाट क्याच आउ गराउँदै नेपाललाई तेस्रो सफलता दिलाए। 

अलराउण्डर दीपेन्द्र सिंह ऐरीले दोस्रो ओभरको तेस्रो बलमा बंगालदेशका कप्तान नाजमुल हुसैन सान्तोलाई ४ रन बनाउँदा बोल्ड आउट गर्दै नेपाललाई लगातार दोस्रो सफलता दिलाए। 

मोहम्मदुल्लाह नवौ ओभरको अन्तिम बलमा रन आउट भए। १३ रन बनाएका उनलाई सन्दीप लामिछानेको बलमा गुल्सन झाले रन आउट गराए। 

कप्तान रोहितले १२ औँ ओभरको चौथो बलमा सकिब हल हसनलाई १७ रन बनाउँदा एलबीडब्लु धरापमा पारे।  

यसअघि पाचौँ ओभरको चौथो बलमा कप्तान रोहित पौडेलले ९ रन बनाएका तोहिद ह्दोयलाई सन्दीप लामिछानेको हातबाट क्याच आउट गराउँदै नेपाललाई चौथो सफलता दिलाएका थिए। 

सन्दीप लामिछानेले चौधौँ ओभरको दोस्रो बलमा तान्जिमलाई ३ रन बनाउँदा बोल्ड आउट गर्दै नेपाललाई सातौँ सफलता दिलाएका हुन्। तान्जिम अल हसनलाई बोल्ड आउट गर्दै सन्दीपले टी–२० आईमा ९९ विकेट लिएका हुन्। 

सन्दीपले १६ औँ ओभरको तेस्रो बलमा बंगलादेशका जाकर अलीको विकेट लिर्दै टी–२० आईमा १ सय विकेट पूरा गरे। 

टी–२० आईमा सबैभन्दा छिटो १ सय विकेट लिने सन्दीप विश्वका दोस्रो खेलाडी हुन्।

यसअघि रासिद खानले ५३ खेलमा १ सय विकेट लिएका थिए। सन्दीपले यो कीर्तिमान ५४ औँ खेलमा आएर पूरा गरे। नेपालका लागि भने १ सय विकेट लिने सन्दीप पहिलो खेलाडी हुन्। 

अठारौ ओभरको पहिलो बलमा रिसद हुसैनलाई १३ रन बनाउँला क्याच आउट गरे। उनले नै अन्तिम ओभरको तेस्रो बलमा मुस्ताफीजुर रहमानलाई रन आउट बनाउँदै बंगलादेशलाई अलआउट गरेका हुन्। 

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिए। सोमपाल कामी, रोहित पौडेल र सन्दीप लामिछानेले समान २ विकेट आफ्नो नाममा गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .